गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच भेट

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बदल’सँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले शिष्टाचार भेट गरेका छन् । 

मङ्गलवार गृहमन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको हो । भेटमा गृहमन्त्री थापाले नेपालको शिक्षा, प्रविधिलगायतको क्षेत्रमा पाकिस्तानको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गरे । 

राजदूत जावेदले सुरक्षाको क्षेत्रमा समेत थप सहयोग आदानप्रदान गर्न सकिने भेटमा बताएका थिए । उनले नेपालमा पनि पाँच वर्षका लागि स्थायी सरकार बनेको र पाकिस्तानमा पनि भर्खरै पाँच वर्षका लागि सरकार बनेकाले दुई सरकारबीच दिगो सहकार्यका लागि अहिले उपयुक्त वातावरण बनेको टिप्पणी गरे । 

नेपाल र पाकिस्तानबीच सांसद तथा युवाको भ्रमण आदानप्रदानका लागि तयारी भइरहेको र यसले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे । भेटमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सम्मेलनको विषयमा समेत छलफल भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?