देवाही गोनाहीको निर्णय, विपन्न परिवारको ५० युनिटसम्मको विद्युत महसुल तिरिदिने

लोकपथ
130
Shares

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाकाले देवाही गोनाही नगर क्षेत्रका करिब ७ हजार विपन्न तथा गरीब परिवारको ५० युनिटसम्मको विद्युत महसुल नगरपालिकाले तिर्ने भएको छ । देवाही गोनाही नगरपालिकाले कार्यपालिका बैठकबाट नै ५० युनिटसम्मको विद्युत् महसुल तिर्ने निर्णय गरेको हो ।

देवाही गोनाही नगर क्षेत्रका गरीब, विपन्न तथा दलित परिवारको बिजुली बिल नगरपालिकाले व्यहोर्ने नगर प्रमुख प्रेमलालसाह कानुले बताए । देवाही गोनाही नगरपालिकामा बसोवास गर्ने आर्थिक रुपमा कमजोर भएका बिपन्न परिवार, गरीब तथा दलित समुदायहरुलाई ५० युनिटसम्म खपत विद्युत् महसुल नगरपालिकाले तिर्ने नगर प्रमुख कानुले जानकारी दिए ।

आफ्नो चुनावी घोषणापत्रअनुसार नै यो कार्यक्रम गरिएको नगर प्रमुख कानुले बताए । निःशुल्क विद्युत योजनाको लाभ लिन स्थानीयले योजना लागू हुने समयभन्दा अगाडिको बिल भुक्तानी गरेको हुनुपर्नेसमेत उनले बताएका छन् । जनताले आफूहरूलाई विश्वास गरेर पाँच वर्षका लागि चयन गरेको भन्दै यो अवधिमा आफूहरूले अब जनताको सुविधाका लागि ध्यान दिने नगरप्रमुख कानुले बताएका छन् ।

नगरप्रमुख कानुले आफू भूमिहिन र निम्न वर्गको परिवारबाट राजनीतिमा आएको भन्दै आफूले पनि निम्न वर्गको जनतालाई सर्वोपरी ठानेर काम गर्ने बताएका छन् । ५० युनिटभन्दा बढी विद्युत् खपत भएको पाइएमा सम्बन्धित् व्यक्तिले स्वयं बिल तिर्नुपर्ने देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले बताएका छन् ।

यो सुविधा लिन मिटर रिडिङ भएलगतै सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा बिल जम्मा गराउन नगरपालिकाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?