राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा पूजा-अर्चना

लोकपथ
78
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्णमन्दिरको पूजा, आराधना गरेकी छन् । राष्ट्रपति भण्डारीले आज कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गरेकी हुन् ।

आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लागेको छ । हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा दर्शनार्थी भक्तजनहरुको भीड हुन्छ । साथै, विभिन्न कृष्णगाथाको मञ्चन गरेरसमेत कृष्ण जन्माष्टमी पर्व मनाइन्छ ।

हरेक वर्ष भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमीको दिनको रुपमा मनाउने गरिन्छ । आज देशभर भगवान श्रीकृष्णको पूजा, उपासना गरेर अष्टमी पर्व मनाइँदै छ । वैदिक सत्य सनातन धर्मावलम्वीहरुले आजका दिन जागरम बसी श्रद्धा, भक्तिपूर्वक कृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन् ।

आजका दिन देशभर भगवान विष्णुका मन्दिरमा पनि भक्तजनहरुको भीड लाग्ने गर्दछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

आजको दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको कृष्णलीला, पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान श्रीकृष्णको जन्म भएको शास्त्रमा उल्लेख छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको शास्त्रमा वर्णन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?