राष्ट्रपति भण्डारीद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना व्यक्त

लोकपथ
65
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । श्रीकृष्ण जन्माष्टमी पर्वले सबै नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी हुन् ।

भदौ महिनाको पहिलो अष्टमीका दिन भगवान श्रीकृष्णको जन्म भएको भन्ने मान्यताका साथ हिन्दु धर्मावलम्वीहरुले आज (बिहीबार) श्रीकृष्ण जन्माष्टमी मनाउँदै छन् । जन्माष्टमी वा गोकुल अष्टमीका नामले समेत परिचित यस पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयका तर्फबाट राष्ट्रपति भण्डारीले पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी हुन् । जन्माष्टमी पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेका छन् । धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिन्छ ।

यसैकारण विश्व भरिका हिन्दु धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको छ । सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौंदेखि निरन्तर मार्गदर्शन गरिरहेको राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना पत्रमा उल्लेख छ ।

पत्रमा भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?