मर्स्याङ्दी गाउँपालिकाले एचआईभी संक्रमितलाई मासिक भत्ता दिने

लोकपथ
13
Shares

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ । गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक हजार भत्ता दिने निर्णय गरेको हो । संक्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताको रूपमा मासिक भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुल घलेका अनुसार पालिकाभित्र १६ जना एचआईभी संक्रमित रहेका छन् । उनीहरूमध्ये ५ जना पुरुष र ११ जना महिला छन् । स्वास्थ्य शाखामार्फत एआरटी औषधि प्रयोग गरिरहेका उनीहरू कोही पनि सामाजिक रूपमा बाहिर खुलेका छैनन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले संक्रमितहरूले भत्ता बुझ्नका लागि निवेदनको साथमा नागरिकताको प्रतिलिपी र एचआइभी संक्रमित पुष्टी हुने कागजात पेस गर्नुपर्ने बताए ।

यसअघि गाउँपालिकाले ६० देखि ६९ वर्ष उमेरका एकल पुरुष र ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई मासिक पाँच सय भत्ता दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?