लागुऔषध दुर्व्यसन नियन्त्रण पहिलो प्राथमिकता : डीएसपी श्रीमल

लोकपथ
42
Shares

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले लागुऔषध दुर्व्यसन र ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । केही दिन अघिमात्रै जिल्लाको प्रहरी प्रमुखको रुपमा लमजुङ आएका उनले पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्दै लागुऔषध दुव्र्यसन र ओसापसार नियन्त्रणलाई प्राथमिकता दिने बताए ।

जिल्लाको विगतको तथ्यांक हेर्दा लागुऔषध प्रयोगकर्ता अत्याधिक रहेको र त्यसलाई न्यूनीकरण गर्नुपर्ने चुनौति रहेकाले यसलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ । लागुऔषध दुव्र्यसनका माध्यमबाट हुन सक्ने सम्भावित घटना दुर्घटनालाई न्यूनिकरण गर्न आफू प्रतिवद्ध रहेको बताए । उनले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ९ वटा बुँदाहरु प्राथमिकतामा राखेर काम गर्ने बताए ।

महिलासँग सम्वन्धित अपराध नियन्त्रण, रोकथाम तथा सचेतना, गुण्डागर्दी, मादक पदार्थ सेवन, होहल्ला, सामाजिक अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेको बताए । सवारी दुर्घटना न्युनिकरण, सवारीसँग सम्वन्धित नियमहरु नियमन र सचेतना, फरार प्रतिवादीहरु पक्राउ, अवैध जडिबुटि तथा अखेटोपहार ओसारपसार नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मातहतका कार्यलयका लागि जग्गा प्राप्ति, आवास तथा भौतिक निर्माण, उन्नत प्रहरी व्यवहारमा प्राथमिकता र प्रहरी कर्मचारीहरुमा आपसी सद्भाव, र सामाजिक सञ्जालको दुरुपयोगसँगै मौलाउदो विद्युतीय अपराध न्युनिकरणलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताए । सचेतना र प्रहरी परिचालन रणनीतिअनुसार समग्र जिल्लाको शान्ति सुरक्षा सुव्यवस्था कामय गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?