वडा कार्यालयको पनि शाखा !

लोकपथ
0
Shares

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क वडा कार्यालयले शाखा स्थापना गरेको छ ।

बसेरीमा रहेको वडा कार्यालय पुग्न दुईरतीन घण्टा हिँड्न वाध्य स्थानीयलाई लक्षित गर्दै मालामा वडा कार्यालयको शाखा विस्तार गरिएको हो । महिनाको ६ दिन सेवा दिनेगरी बुधबार वडा कार्यालयको शाखा स्थापना गरिएको वडाध्यक्ष रामबहादुर कटवालले बताए ।

वडाको शाखाबाट साविकको बिजयखर्क–१ र २ का स्थानीय लाभान्वित भएका छन् । वडाको शाखामा सेवा प्रवाहका लागि सचिव र कार्यालय सहयोगीमध्ये एक जनालाई खटाइने छ । चम्पावती माविको एउटा खाली भवन लिएर वडाको शाखाका रुपमा सेवा सुरु गरिएको हो ।

वडा कार्यालय बिजयखर्कले सोही ठाउँबाट स्वास्थ्य सेवा पनि सुरु गरेको छ । महिनाको ६ दिन स्वास्थ्यचौकी सरहको सेवा दिनेगरी सेवा सुरु गरिएको हो । तोकिएको दिन एक जना स्वास्थ्यकर्मीलाई औषधि सहित खटाइने वडा कार्यालयले जनाएको छ । स्वास्थ्यचौकीले महिनाको ६ दिन गाउँबाटै सेवा दिन सुरु गरेपछि सामान्य स्वास्थ्य सेवाका लागि घण्टौं हिँड्नुपर्ने नागरिक लाभान्वित भएको स्थानीय युवा नेता किसन भुजेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?