वागमती नदीमा उद्घाटनको १२ वर्षसम्म पनि बनेन पक्की पुल

लोकपथ
7
Shares

काठमाडौं । रौतहटको वडहर्वास्थित वागमती नदीमा बाह्र वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । दुर्गाभगवती गाउँपलिका ५ वडहर्वास्थित वागमती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीयहरुलाई समस्या परेको हो ।

वागमती नदीमा स्थानीयहरु वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो । तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन । पुल बन्ने ठूलो आशा बोकेका वागमती पारीका वडहर्वावासीले आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको गुनासो पोखेका छन् ।

पुल समयमा नै निर्माण सम्पन्न नहुँदा वागमती पारी बसोवास गर्ने करिव ४ सय भन्दा बढी घरधुरीका स्थानीय जोखिम मोलेर काठको डुंगामा यात्रा गर्न बाध्य छन् । स्थानीयहरु दैनिक तथा प्रशासनिक कामको लागि र जिल्लाका विभिन्न स्थानहरुमा जानको लागि डुंगाकै भर पर्नुपर्ने अवस्था रहेको उनीहरुले बताए ।

बिरामी हुँदासमेत डुंगामार्फत नदी पार गरेर उपचार गर्न जानुपर्ने अवस्था रहेको छ । स्थानीय बालकेश्वरी देवीले नदीमा बाढी आएमा नदी पारी जानसमेत नसक्ने बताईन् । उनले आफ्नो खेतबारीमा काम गर्न जान समेत एकदिन लाग्ने गरेको गुनासो गरिन । त्यस्तै, स्थानीय सुरेन्द्र पासवानले वडा कार्यालयमा सामान्य सिफारिसको लागि जाँदा एकदिन छुट्याएर जानुपर्ने बाध्यता रहेको बताए ।

वागमती नदी पारी रौतहटको वतसपुर, बडहर्वा, राजदेवी , गौर लगायत स्थानका मानिसहरु डुंगा चढेरै खेतबारीमा काम गर्न जाने गरेका छन् । वागमती पारीका स्थानियलाई वारी आउन दुईवटा डुंगाको यात्रा गर्नुपर्छ । वर्षा याममा वागमती नदीमा बाढी आउँदा स्थानियहरुको आवत जावत नै ठप्प हुने गरेको डुंगा चालक रामबाबु रजकले बताए । डुंगा चढ्न सर्वसाधरणले एकपटकको ५० रुपैयाँ लाग्ने उनले जानकारी दिए । उनले नदीमा बाढी आउँदा दिनमा एकपटक मात्रै डुंगा चल्ने गरेको बताए ।

यता, हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख दारोगाप्रसाद साहले भने ठेकेदार कम्पनीको समय अवधि डेढ वर्ष रहेको बताएका छन् । उनले डेढ वर्षको अवधिमा वागमती नदीको पुल अन्य किसिमका बाधा नभए निर्माण सम्पन्न हुने बताए ।

वागमती नदीमा वि.सं २०६७ सालको जेठमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालद्वारा पक्की पुलको शिलान्यास भएको थियो । प्रधानमन्त्रीबाट पक्की पुल निर्माणको लागि शिलान्यास भएसँगै ज्यानको जोखिम राखेर यात्रा गर्न बाध्य वडहर्वावासी खुशी भएका थिए । तर शिलान्यास भएको १२ वर्षसम्म पनि पुल बन्न नसक्दा स्थानीयहरु रुष्ट भएका छन् । वागमती नदीको उक्त पुल निमार्ण सम्पन्न भएमा रौतहट र सर्लाहीका बासिन्दा समेत प्रत्यक्ष लाभावन्वित हुन्छन् ।

पुलको ठेक्का लुम्बिनी बिल्डर्स प्रा.लि. सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा पाएको थियो । ठेक्का लुम्बिनिले पाएपनि निर्माणको काम पप्पु कन्सन्ट्रक्सनले थालेको थियोे । पप्पु कन्ट्रक्सनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

१७ स्पानसहितको सो पुलको लम्बाई ६ सय ३३ मिटर र चौडाई दुई लेनको छ । स्पान निर्माणको काम सकिएपनि बाँकी काम भने शुरु भएको ९ वर्षभन्दा बढी भइसकेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, पर्साले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्ध गरेपछि पुनः आह्वान गरेको ठेक्का माहालक्ष्मी विकास वाइपी जेभी जनकपुरले २०७९ वैशाख ११ गते सम्झौता गरी २०८१ कार्तिक १० गते निमार्ण सम्पन्न गर्नेगरी ५७ करोड ४० लाख ७७ हजार ५ सय १ रुपैयाँमा सम्झौता गरेको छ । कार्यालयले नयाँ ठेक्का लगाएपनि काम भने शुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?