दल दर्ताका लागि निवेदन दिएका दलहरुको जाँच बुधवारबाट हुने : निर्वाचन आयोग

लोकपथ
78
Shares

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधवार) बाट जाँच गर्ने भएको छ । मंगलवार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरुको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो ।

सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरुको भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्नेकुराको परीक्षण शुरु हुने बताए । उनले सबै कुराको परीक्षण गरेर दलहरुलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम शुरु हुने बताए । आयोगले निर्णय गरेपछि, कानूनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरु दर्ता हुने प्रवक्ता पौडेलले जानकाी दिए ।

प्रवक्ता पौडेलले संयुक्त निर्वाचन चिन्ह लिएर चुनावमा प्रतिष्पर्धा गरेपनि निर्वाचनपछि भने सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने बताए । चुनावमा कुनै एउटा चिन्हबाट प्रतिष्पर्धा गरेको भएपनि निर्वाचनपछि चुनाव चिन्ह लिएको दलको भन्दा अर्को पार्टीले बढी सिट ल्याएमा बढी सिट ल्याएको पार्टीको नाममा संसदीय दल गठन हुने भन्दै उनले पार्टीमा सदस्य फरकफरक भएपनि संसदीय दल भने एउटै रहने बताए । पौडेलले संसदीय दलको ह्वीप यदी मानेनन् भने त्यसमा सदस्यता नरहने सम्मको कानूनी व्यवस्था रहेको उल्लेख गरे ।

मतदाता नामावली अद्यावधिकको काम अहिले ७७ वटै जिल्लामा भइरहेको बताउँदै उनले निर्वाचन आयोगले अहिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पर्यवेक्षणको लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु पनि आह्वान गर्न लागेको बताए । निर्वाचनका लागि चाहिने सामग्रीहरु टेण्डरको लागि पनि काम भइरहेको उनले जानकारी दिए । साथै निर्वाचनका लागि चाहिने बजेटको बारेमा पनि छलफल भइसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?