बेँसीशहर नगरापालिकामा खरखरे पहिरोको सधै त्रास

लोकपथ
117
Shares

लमजुङ । बेँसीशहर नगरापालिका– ६, बेलाउती बसौनानजिकै रहेको खरखरे पहिरोका कारण सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङबासीले वषौँदेखि सास्ती भोग्दै आएका छन् । हिउँद महिना जेनतेन चले पनि बर्खा लाग्ने बित्तिकै यो पहिरोले यातायात ठप्प हुन्छ । २०४७ सालमा घनपोखरा निवासी खगेन्द्रजङ गुरुङ र खुदी निवासी शेरबहादुर भण्डारीको नेतृत्वमा बेँसीशहर खुदी सडक निर्माण सुरु भएको थियो ।

सोही वर्ष बेँसीशहर–खुदीसम्मको कच्ची सडक तयार भइ यातायात सञ्चालन भयो । स्थानीयवासी आफ्नो गाउँ ठाउँमा यातायात चलेकोमा खुसीले गदगद भए । तर, उक्त खुसी धेरै समय टिक्न पाएन । सोही सालको बर्खामा खरखरेमा ठूलो पहिरो गएर बर्खाभरि यातायात रोकिए । यसरी खरखरे पहिरोले यातायात ठप्प हुनेक्रमले प्रत्येक वर्ष उही नियति भोगिरहनु परेको छ ।

खरखरे पहिरो रोकथाम र सडक दिगो बनाउने कुरामा यहाँका सरोकारवाला निकाय ३२ वर्षसम्म के हेरेर बसेका छन् स्थानीयवासीले प्रश्न गरिरहेका छन् । केन्द्रीकृत राज्यव्यवस्थाले तल दूरदराजको समस्या देखेन भनेर संघीय व्यवस्थामा देश गयो । संघ, प्रदेश र स्थानीय सरकारले काम गर्न थालेको पनि ६ वर्ष भइसक्यो । अझैसम्म यी कसैको पनि नजर खरखरे पहिरोमा जान सकेन ।

प्रत्येक निर्वाचनमा यही बाटो देखाएर सबै पार्टीका चुनावी मसला बनाइन्छ तर स्थायी समाधान गर्ने विषयमा किन दलहरू सम्बेदनशील छैनन ? भनी प्रश्न गर्छन् मर्स्याङ्दी गाउँपालिका–९ का भद्रमोहन थापा । सबैभन्दा ठूला र धेरै जलविद्युत आयोजना उत्तरी लमजुङमै पर्छन् र यही मार्ग भएर जानुपर्छ ।

आयोजनाका ठूला र वजनदार मेशिन, गाडीहरू समेत यही बाटो भएर लैजानुपर्छ । ती ठुला गाडीहरू सजिलोसँग दोहोरो पास हुनेगरी स्तरीय सडक निर्माण गर्ने आयोजनाको योजनामै हुन्छ । तर, यी आयोजनाहरूले किन सडक मर्मतसम्म पनि गर्दैनन् ? थापा भन्छन् २०२४ सालमा त्रिशुली देवीघाट जलविद्युत आयोजनाले काठमाडौंको बालाजुदेखि दोलखा देवीघाटसम्मको सडक निर्माण गरेर आयोजना पूरा गरेको थियो ।

सडक, पुल निर्माणका लागि आयोजनाले बजेटमै राखेको हुन्छ । तर, यहाँका आयोजनाले यो बजेट कहाँ खर्च गर्यो ? स्थानीय सरकार, सरोकारवाला, नागरिकले खोज्नुपर्दैन उनी प्रश्न गर्छन् ? मर्स्याङ्दी–९ का वडाअध्यक्ष हरिशचन्द्र थापा, मर्स्याङ्दी–३ का अध्यक्ष दुधमान तामाङ र बेसीशहर नगरपालिका–६ का अध्यक्ष प्रकाश थापासहितको टोलीले केही दिन अगाडी बाटोको विषयमा मर्स्याङ्दी गाउँपालिकाको कार्यालय र बेसीशहर नगरपालिकाको कार्यालयमा डेलीकेसन गएका छन् । अब पर्यटनको सिजन र चाडबाडको समय आएकाले छिटोभन्दा छिटो सडक मर्मत गरेर सञ्चालन गर्न माग राखेको अध्यक्ष थापाले बताए ।

पहिरोले गाडी रोकिएपछि उत्तरी लमजुङ र मनाङका व्यापारीको सामान लैजान समेत नपाएको र स्थानीयबासीका दैनिक उपभोग्य वस्तु लैजान पनि धेरै कठिनाई हुने गरेको छ । वर्षा रोकिएपछि सामान्य मर्मत गरेर हिउँदभरि यातायात चलाउने काम मात्रै हुँदै आइरहेको छ । तर, दिगो संरचनासहितको सडक निर्माण गर्ने कुरामा अझै योजना बनेको छैन । सडक डिभिजन कार्यालयले बेसीशहर चामे सडक फराकिलो बनाउने, नाली बनाउने काम गरिरहेको छ ।

बेलाउती बिसौनाबाट मर्स्याङ्दीमा पुल हालेर लेते लैजाने र फेरि अर्को पुल हालेर मलेबगरमा जोड्ने योजना सडक डिभिजन कार्यालयको रहेको छ । यो काम कहिलेसम्म सम्पन्न हुने हो भन्ने बिषय भने अझै अन्योल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?