सडक अतिक्रमणविरुद्ध सचेतना अभियान सुरु

लोकपथ
65
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान सुरु गरेको छ । अभियानमा सडक अतिक्रमण गरेर अनऔपचारिक रुपमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई उनिहरुका कारण पैदल यात्रामा उत्पन्न हुने कठिनाई, यात्रुले सडकबाट हिँड्नु पर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटना विषयमा सम्झाई बुझाई गरेर अनधिकृत व्यापार नगर्न आग्रह गर्ने गरिएको छ ।

यससँगै औपचारिक रुपमा व्यापार गर्नेहरुलाई सामान सडकमा ननिकाल्न, ठाउँ बढाउन थप संरचना नबनाउन, त्रिपाललगायतका सामान छोप्ने वस्तु राखेर सुन्दरता नबिगार्न अनुरोध गर्ने गरिएको छ । अहिले आफूहरुले बानेश्वर र बालाजु माछापोखरी क्षेत्रमा यसप्रकारको अभियान थालेको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाले बताए ।

उनले ‘अव्यवस्थित व्यापारले सहरी सुन्दरता विगार्ने र यसप्रकारको व्यवसायप्रति सरकार जिम्मेवार नदेखिएको उनको भनाई छ । त्यसैले, अनौपचारिक व्यापारलाई औचपरिक बनाउन महानगरलाई सहयोग गर्नुहोस भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको हो’ सापकोटाले भने । अभियानमा नगर प्रहरीसँगै दैनिक ३० जनादेखि ५० जनासम्म स्वयमसेवक परिचालन गर्ने गरिएको उनको बताए ।

अभियानले बानेश्वर क्षेत्रमा पारेको प्रभावका बारेमा जानकारी दिँदै नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले, ‘फुटपाथमा गरिने व्यापार सामाजिक समस्या भएकोले समाधानका लागि थालिएको सामुहिक प्रयासबाट अनधिकृत व्यापारमा कमी आएको बताएका ।’

उनले आफूहरुले पार्किङ् प्रयोजनका लागि निर्माण गरेका तर, अन्य प्रयोगमा ल्याइएका ठाउँ पहिचान खोजिरहेको र यसबाट पार्किङ् समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।’ नयाँ बानेश्वर चोकदेखि शंखमुल, पुरानो बानेश्वर, मीन भवनसम्मको क्षेत्रलाई अनौपचारिक व्यापार निषेधित क्षेत्र बनाइएको नगर प्रहरी निरीक्षक भट्टराईको भनाइ छ ।

यस अभियानमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, घर धनी, स्थानीय व्यापार व्यवसायी संघ, स्कुले विद्यार्थी, स्थानीय संघ–संस्था, क्लब, आमा समूह, महिला समूह, महिला स्वास्थ्य स्वंयमसेविका, सामाजिक अभियन्ताजस्ता सरोकारवालालाई सहभागि गराइएको छ ।

‘भित्री सहरी क्षेत्रका असन, इन्द्रचोक, महावौद्धलगायतका क्षेत्रका सडकमा भएको अवरोध हटाउन आफूहरुले जनप्रतिनिधिको साथमा अभियान चलाइरहेका छौँ’ नगर प्रहरी नायव निरीक्षक लोकनाथ चुडालले भने । उनले ‘सडक अवरोध हटाउन स्थानीय टोल सुधार समिति, उपभोक्ता समितिहरुबाट अनुरोध पनि आउने गरेको बताउँदै उक्त मागहरुलाई उनिहरुसँगै समन्वय गरेर, व्यापारीहरुलाई सम्झाउने, माइकिङ् गरेर अनौपरिक व्यापारलाई निरुत्साहन गर्ने, औपचारिक व्यापारीले गरेका त्रुटीहरुलाई सच्याउन अनुरोध गर्ने गरिरहेको बताए ।’

उनकाअनुसार तरकारी विक्री गर्ने ठाउँका रुपमा प्रयोग हुँदै आएका ठाउँहरुलाई बिहान ८ बजेसम्म मात्र राख्न दिने गरिएको छ । अभियानमा बल प्रयोग नगरिने र समुदायको सहभागितामा सचेतना कार्यक्रमसँगै सडकपेटी अतिक्रमण नियन्त्रण, सहरी सुव्यवस्था सम्बन्धी काम, सरसफाई, ट्राफिक नियन्त्रणजस्ता कामलाई सँगसँगै गरिन्छ ।

यस्तै, दृष्य प्रदुषण नियन्त्रण, पार्किङ्ग स्थलको वयवस्थापन, साईकल तथा गाडा नियन्त्रण, पसल कवल बाहिर र सेडब्याकमा रहेको पसलको व्यवस्थापन, सडकपेटी मर्मत, बार र ट्रिगार्डको व्यवस्थापन, रुखको ट्रिमिङ्ग, अव्यवस्थित तार व्यवस्थापनका काम हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?