स्वास्थ्य बीमाको भुक्तानीका विषयमा अस्पतालहरुले चिन्ता लिन आवश्यक छैन् : स्वास्थ्यमन्त्री खापुङ

लोकपथ
52
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका छन् ।

आज (सोमबार) नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका हुन् ।

उनले अहिले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नको लागि मन्त्रालय तयार रहेको पनि बताएका छन् । मन्त्री खापुङले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको लागि सरकारी र निजी अस्पतालहरुका कमि कमजोरी देखिएको बताए । उनले स्वास्थ्य बीमा गर्ने व्यक्तिहरुले समेत बीमा गरेकै छु भनि आवश्यकता भन्दा बढी प्रयोग गर्न खोजेकाले पनि समस्या आएको गुनासो पोखे ।

मन्त्री खापुङले स्वास्थ्य बीमा कार्यक्रमको उदेश्य अनुसार सत्यतथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको बताउँदै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाएर सबै जनतामा पु¥याउने र बीमा रकम वृद्धि गर्ने विषयमा राज्यमन्त्रीको नेतृत्वमा सुझाव कार्यदल बनाएर अगाडि बढेको जानकारी दिए ।

अहिले अस्पतालहरुमा डाक्टरको अभाव रहेको बताउँदै डाक्टरहरुको अभाव रहेपनि धेरै डाक्टरहरु बेरोजगार पनि रहेको मन्त्री खापुङले बताए । उनले धेरै डाक्टरहरु मन्त्रालयमा एमबीबीएस,डेण्टलमा विशिष्टता हासिल गरेको तर बेरोजगार रहेको भन्दै मन्त्रालयमा आउने उनिहरुलाई दुर्गम क्षेत्रमा काम गर्न जाँदा कोही तयार नभएको गुनासो पनि गरे ।

मन्त्री खापुङले काठमाडौंमा डाक्टर अत्याधिक भएपनि काम केही नभएको बताए । उनले दरबन्दी र काम नभएको आर्यघाटमा समेत ७ जना डाक्टर रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?