अमेरिकाले इरानलाई भन्यो –“ ऐना हेर”

एजेन्सी : संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले ले शनिबार इरानको सैनिक परेडमा २५को ज्यान जाने गरी भएको एक आक्रमणको सन्दर्भमा इरानलाई ऐना हेर्न भनेकी छिन् ।

लामो समय देखि आफ्नो जनतामाथि दमन गरी आएका इरानका राष्ट्रपति हसन रुहानीलाई उनले अरूमाथि आरोप लगाउनु भन्दा आफ्नो अनुहार ऐनामा हेर्न आग्रह गरिन् ।

राष्ट्रपति रुहानीले इरानको सैनिक परेडमा भएको सो आक्रमणमा अमेरिकी संलग्नता रहेको आरोप लगाएका थिए ।

आरोपको जवाफ दिँदै राजदूत हेलीले यस्तो प्रतिक्रिया दिएकी छिन् । 

आक्रमण गराएको विषयमा दुई छुट्टा छुट्टै समूहले जिम्मेवारी लिएका छन् ।

तर कुनै पनि समूहले यसबारे प्रमाण प्रस्तुत गरेको छैन् ।

शनिबार इरानको दक्षिण पश्चिम शहर अभाजमा त्यहाँको सेना क्रान्तिकारी रक्षक दलमाथि चार जना बन्दुकधारीले गोली चलाएका थिए ।

सैनिक परेड हेर्न आएका नागरिक र सैनिक गरी २५ जनाको सो आक्रमणमा ज्यान गएको थियो ।

मारिएकामा एक चार वर्षकी बालिका रहेकी छिन् ।

सरकार विरोधी अरब समूह अभाज नेशनल रेसिस्टन्स र इश्लामिक स्टेट (आइएस) दुबैले यो आक्रमणको जिम्मेवारी लिएका छन् ।

यो घटना पछि इरानका राष्ट्रपति रुहानीले अमेरिकाका साथै अरब राष्ट्रहरूले यो आक्रमण गरेको आरोप लगाए ।

इरानका राष्ट्रपति रुहानी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघीय सम्मेलनमा यो साता एक अर्काको आमनुसामुने हुनेछन् ।

राष्ट्रसंघको भ्रमणमा जान अघि रुहानीले यस्तो अपराधलाई इरानले खडा हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

इरान र अमेरिकाबीचको सम्बन्ध दशकौं देखि बिग्रिदै आएको छ ।

सन् २०१५मा अमेरिकी राष्ट्रपति बराक ओबामाले इरानलाई परमाणु कार्यक्रमबाट अलग्याउन एक बहुपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए ।

इरानले परमाणु हातहतियारको उत्पादन गरेको लगाएको अमेरिकी आरोपलाई अस्वीकार गर्दै आएको इरानबीच भएको सो सम्झौतालाई वर्तमान राष्ट्रपति ट्रम्पले नमान्ने घोषणा गरी खारेज गरेका छन् । ट्रम्पले सम्झौता खारेज गरेपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको हो ।

सो बहुपक्षीय सम्झौतामा अमेरिकासँग चीन, रुस, बेलायत, फ्रान्स र जर्मनी समेतले हस्ताक्षर गरेका थिए ।

सुरक्षा परिषद्का अध्यक्ष रहेका ट्रम्पले सुरक्षा परिषद्को ध्यान इरानप्रति केन्द्रित रहने जनाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?