नेदरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठग्ने राई पक्राउ

लोकपथ
286
Shares

काठमाडौं । वैदेशिक रोजगारिका लागि नेदरल्याण्ड पठाईदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खोटाङको बाह्रपोखरी गाउँपालिका ५ देवस्थान घर भई हाल काठमाडौंको कोटेश्वरमा बसेर मुन ह्युमन रिर्सोस प्रा.लि.सञ्चालन गर्दै आएका ३५ बर्षीय प्रकाश राईलाई प्रहरीले पक्रेको हो ।

उनले रसुवाको गोुाईँकुण्ड गाउँपालिका ९ ठूलोस्याप्रु घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका १ ढुंगेधारा बस्ने २७ बर्षीय निमा काल्तेन तामाङसहित १६ जनालाई वर्किङ भिषामा नेदरल्याण्ड पठाउने भन्दै ठगेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार राईले प्रतिव्यक्ति सोह्र लाख ठगेका छन् । उनले उक्त रकम पानीजहाजको ‘सीमेन’ को रुपमा काम लगाईदिने भन्दै ठगेका थिए ।

कुल १ करोड ३६ लाख ५० हजार रकम ठगेर भागेका राईलाई वैदेशिक रोजगार विभागले पक्राउ गरिदिन भन्दै महानगरिय अपराध महाशाखालाई पत्राचार गरेको थियो । विभागको पत्रअनुसार महाशाखाले उनलाई हिजो आइतबार साँझ करिब ६ बजेको समयमा कोटेश्वरबाट समातेको हो ।

हाल उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको अपराध महाशाखाका सूचना अधिकृत कृष्ण प्रसाद कोईरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?