नेपालस्थित भारतीय दूतावासले मनायो ७६औँ स्वतन्त्रता दिवस

लोकपथ
105
Shares

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावास, काठमाडौंले भारतको ७६औँ स्वतन्त्रता दिवस मनाएको छ ।

सोमबार लैनचौरस्थित भारतीय दूतावासमा भव्य कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाएको हो

भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको छ ।

दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो । तत्पश्चात उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेको सम्बोधन पढेर सुनाएका थिए।

भारतको स्वतन्त्रताको खातिर स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै राष्ट्रपति मुर्मूले भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गरेकी थिइन्। भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत गर्दै राष्ट्रपति मुमूले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्ण रुपमा समर्पित भई अघि बढ्न आह्वान गरिन्।

कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई २ करोड ६५ लाख प्रदान गरी सम्मान गरेका थियो ।

दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत समेत गरेको थियो । देश बाहिर रहेका भारतीय युवा र विदेशी नागरिकलाई भारतबारे जानकारी थाहा पाउन प्ररित गर्ने उद्देश्यले भारत सरकार विदेश मन्त्रालयले सो हाजिरीजवाफको आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुति प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?