साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फोटोफिचर)

लोकपथ
0
Shares

काठमाडौं । साउनको अन्तिम सोमबार आज पवित्र धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ । यसपटक साउनमा पाँचवटा सोमबार परेका थिए । त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो ।

भगवान शिवको व्रत बसेका भक्तजन बिहान ४ बजेदेखि नै देवघाट जाने÷आउने गर्न थालेका हुन् । स्नान गर्न जाने क्रम जारी छ । साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । देवघाटमा झण्डै एक लाख भक्तजन पुगेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले जानकारी दिए । साउनको चौथो सोमबार करिब ७० हजार भक्तजन देवघाट पुगेको उनले बताए ।

‘यसपटक साउनमा पाँचवटा सोमबार परेको र अन्तिम सोमबार विशेष हुने भएकाले भक्तजनको उल्लेख्य सहभागिता देखिन्छ’, उनले भने, ‘अहिलेसम्म नआएका भक्तजन पनि अन्तिम सोमबार भनेर आउनु भएको छ ।’ ट्राफिक व्यवस्थापनका लागि रामनगरबाट जाने बाटोलाई प्रवेश मार्ग बनाइएको छ भने आँपटारीमा निस्कने बाटोलाई बाहिरीने बाटो बनाइएको छ ।

केही भक्तजनहरू खाली खुट्टै स्नान गर्न पुगेका छन् । सुरक्षा व्यवस्थाका लागि तनहुँ र चितवनतर्फ गरी करिब २०० सुरक्षाकर्मी खटाइएको अध्यक्ष अधिकारीले बताए । यसपटक बाढीले वेणी संगम डुबाएको छ । भक्तजनलाई नदी तार्न प्रयोग गरिँदै आएको डुंगाको प्रयोगमा पनि यसपटक रोक लगाइएको छ । चितवनतर्फबाट गएका भक्तजन झोलुंगे पुलबाट मात्रै तनहुँतर्फ पुगेका छन् ।

देवघाटमा स्नान गर्न देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । साउनको अन्तिम सोमबार नयाँ व्रतालुले पनि साउने व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?