किन बदनाम बन्दैछन् सहकारी ?

काठमाडौं । म ठगिएँ । बर्वाद भएँ । मेहेनत गरी कमाएर बचत गरेको मेरो सम्पत्ति डुब्यो । लौ न मलाई न्याय दिनुपर्‍यो, लगानी डुब्नबाट बचाईदिनुपर्‍यो । हो, हिजोआज सहकारी विभागको कार्यालय भित्र दिनहुँ यस्तै गुहार सुनिन्छ ।

पछिल्लो समय बचत तथा ऋण सहकारीबाट बचतकर्ता ठगिन थालेसँगै उजुरी बोकेर विभाग धाउनेको संख्या बाक्लिन थालेको छ । पछिल्लो घटना हो- काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउदेशीय सहकारी संस्था ।

सहकारीका सञ्चालक बचकर्ताको रकम फिर्ता नगरी फरार भएपछि २५ हजार लगानीकर्ताको झण्डै ७ अर्बभन्दा बढी रकम जोखिममा परेको छ । उक्त सहकारीका बचतकर्ताहरु दैनिकजसो उजुरी लिएर सहकारी विभाग धाउने गरेका छन् ।

आफ्नो गाँसबाट खटाएर जम्मा गरेको रकम जोखिममा परेसँगै हिजोआज आशाकाजी महर्जनको भोक निन्द्रा हराएको छ । काठमाडौं खिचापोखरीका बासिन्दा महर्जनले १५ वर्षदेखि गौतमश्री सहकारीमा कमाइको केही हिस्सा भएपनि रकम जम्मा गर्दै आइरहेका थिए ।

आफूले वर्षौँदेखि विश्वास गरेर रकम जम्मा गरिरहेको सहकारीको सञ्चालक नै फरार भएपछि अहिले उनी तनावमा छन् । ‘वर्षौँदेखि पैसा जम्मा गर्दै आएको थिएँ । यसरी आफ्नै सम्पत्ति जोखिममा पर्छ भनेर त सोचेको पनि थिइनँ,’ उनी भन्दै थिए, ‘सामाजिक सञ्जालमा समाचार देखिएपछि छाँगाबाट खसेजस्तै भएँ । मेरो करिब २० लाख रुपैयाँ जोखिममा पर्यो ।’
पैसा फिर्ता आउने नआउने टुंगो छैन । विभाग धाउँदैमा दिन बित्न थालेको छ, उनको । ‘के गर्ने के नगर्ने ? तनावमा छु । आफूलाई अप्ठेरो परेको बेलामा काम लाग्छ भनेर बचत गरेँ,’ आशाकाजी आश मार्दै भन्छन्, ‘बचतको नाउँमा त्यही सहकारीमा मात्र छ । अब कसरी व्यवहार चलाउने हो टुंगो छैन ।’

महर्जन मात्र होइन उक्त सहकारीका करिब २५ हजार बचतकर्ताको हालत यस्तै बनेको छ । केही पहल भयो कि भनेर सहकारी विभागको ढोका ढकढक्याउन पुग्नेहरु धेरै छन् । कतिपय बचतकर्तालाई त आफूले बचत गरेको बचत कति पुग्यो भन्ने समेत थाहा छैन । जसले बचतकर्ताको रकम हिनामिना हुने जोखिम पनि उत्तिकै छ ।

यसअघि सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले पनि निक्षेपकर्ताहरुको अर्बौं रुपैयाँ ठगी गरेको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गर्यो । उनीसँगै सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई समेत पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । साथै, केही हप्ता अघि तामाङकी पत्नी सिर्जना शाक्यलाई समेत ठगीको आरोपमा ३ साउनमा प्रहरीले पक्राउ गरेको छ ।

गौतमश्री र सिभिल त प्रतिनिधि मात्र हुन् । काठमाडौंको ओरेन्टलदेखि ललितपुरको देउराली र धरानको बराह सहकारीसम्मलाई ठगीको आरोप छ ।

किन बढ्दैछ ठगी ?

सहकारी संस्थाहरुमा पछिल्लो समय ठगीको घटना बढीरहेको छ । सहकारी सञ्चालकहरुमा बढी महत्वाकांक्षा हुँदा ठगी बढीरहेको विभागका सूचना अधिकारी टोलराज उपाध्याय बताउँछन् । संस्थाका सदस्यहरु कम जागरुक हुनुले पनि ठगी बढिरहेको उनको आँकलन छ । ‘सहकारी सञ्चालकहरुमा बढी महत्वाकांक्षा बढ्दै गइरहेको छ,’ उनले भने, ‘सदस्यहरुमा जागरुकता देखिएको छैन । संस्था कता गइरहेको छ, के गरिरहेको छ, लगानी के मा गरिरहेको छ भन्ने कुरामा ख्याल गर्दैनन् ।’

पछिल्लो समय सहकारीहरुले सर्वसाधारणले बचत गरेको पैसा अनुत्पादक क्षेत्रमा लगानी गरिरहेकाले लगानी जोखिममा परेको विज्ञहरु बताउँछन् । सहकारीहरुले झण्डै ९० प्रतिशतभन्दा बढी लगानी घरजग्गा, सेयर, सवारी, अनुत्पादक क्षेत्रमा भएको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

यतिमात्र होइन, सहकारीमा संस्थाको सदस्य स्वतः संस्थाको मालिक हुने भएकोले यस विषयमा चनाखो बन्नुपर्ने उपाध्यायको सुझाव छ । सहकारीमा बचत गर्ने हरेक सदस्यले साधारणसभा, समिति, उप-समितिहरुमा आफ्नो अर्थपूणर् सहभागिता देखाउनु पर्नेमा उनको जोड छ ।

सञ्चालक समितिले लगानीमा सही मार्ग चुन्न नसक्दा सहकारी डुब्ने अवस्थामा पुगेको अवस्थामा पनि सञ्चालकहरु फरार हुने गरेका छन् । जसका कारण बचतकर्ताहरुको सम्पत्ति जोखिममा पर्ने डर छ ।

साथै, सहकारीहरुले बैंकले जस्तै ग्राहक बनाएर उच्च व्याजदरमा कारोबार गरिरहेका छन् । तर, उनीहरुले उठाएको रकम के गरिरहेका छन्, दैनिक कति बचत संकलन गरिरहेका छन् अनि त्यो बचत कति छ भन्ने अनुगमन गर्न नियामक निकाय नहुँदा आम सर्वसाधरणहरु ठगिइरहेको विज्ञहरु बताउँछन् ।

नेपालका सहकारीको अवस्था

अहिले नेपालमा ३० हजारभन्दा बढी सहकारी संस्थाहरु सञ्चालनमा रहेको सहकारी विभागले जनाएको छ । सहकारी संस्थाको नियमन गर्ने अधिकार संघ, प्रदेश र स्थानीयलाई भएको विभागले जनाएको छ ।

३ वटै तहबाट दर्ता र सञ्चालन हुने भएकोले हाल विभागसँग २०७७ सम्मको मात्र तथ्यांक उपलब्ध रहेका उपाध्यायले जानकारी दिए ।

२०७७ सम्म नेपालमा कुल २९ हजार ८८६ सहकारी संस्था सञ्चालनमा रहेको थियो । जसमा कुल सदस्य संख्या ७३ लाख ७ हजार ४६२ जना रहेको विभागको तथ्यांक छ । सो अवधिसम्म कुल सेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार रुपैयाँ रहेको थियो ।

त्यस अवधिसम्म देशभरका सहकारी संस्थाहरुले ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार रुपैयाँ बचत संकलन गरी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार रुपैयाँ ऋण लगानी गरेको थियो । सहकारी संस्थामा ८८ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रदेश र स्थानीय तहहरुलाई सबै तथ्यांक संघ पठाउनुपर्छ भन्ने बाध्यकारी नियम नभएकोले २०७७ पछि कति सहकारी थपिए भन्ने तथ्यांक उपलब्ध नभएको विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्लो एक वर्षको अवधिमा सहकारीले बचतको रकम नदिएको भन्दै ३ सयभन्दा बढी उजुरी परेको छ ।

बचतकर्ताले के कुरामा ध्यान दिने ?

बैंक तथा वित्तीय संस्थाको जस्तो नियमनकारी निकाय सहकारी संस्थाहरुमा नहुने हुँदा सहकारीमा लगानी गर्दा सजक हुनुपर्छ । सहकारीको नियमन पद्दति खुकुलो हुने हुँदा सहकारीलाई नियन्त्रण नै गरेर तहलाउने भन्ने नभएको विभागका सूचना अधिकारी उपाध्याय बताउँछन् ।

कुनै-कुनै सहकारीमा ठगी भए पनि अधिकांश सहकारीको बचत सुरक्षित हुने गरेको विभागले जनाएको छ ।
सहकारी संस्थामा बचत गर्नुपूर्व बचतकर्ताले संस्थाको उदेश्य, लगानी, पुँजी, सञ्चालक समिति लगायत कुराहरु बुझेर मात्र बचत गर्न विभागको सुझाव छ ।

साथै, सहकारीले समयमा साधारण सभा गरेको छ कि छैन ? संस्थाको वित्तिय स्थिति के छ भन्ने कुरामा ख्याल गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

ठगिएमा कहाँ जाने ?
सरकारले सहकारी संस्थाहरुलाई संघ, प्रदेश र स्थानीय तहबाटै नियमन गर्ने जिम्मा दिएको छ । बचतकर्ताले आफू ठगिएको खण्डमा स्थानीय तह प्रदेश अथवा केन्द्रस्थित राष्ट्रिय सहकारी विभागमा उजुरी दिन सक्नेछन् ।

सहकारीमा सदस्य भइसकेपछि सदस्यहरुले ३ वटा आधारभूत कुरा पाउनुपर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल बताउँछन् । ‘सहकारीमा सदस्य भइसकेपछि पहिलो कुरा सदस्यले संस्थाको मालिक हुन पाउनुपर्छ, नियन्त्रण गर्ने प्रक्रियाको हिस्सा पाउनुपर्छ, संस्थामा आवद्ध भएवापत केही न केही फाइदा पाउनुपर्छ,’ उनी भन्दै थिए, ‘यी ३ आधारमा मात्र सहकारीको सदस्य हुने हो तर, नेपालमा यी ३ वटा कुरा संस्थागत ढंगले स्थापित गर्न सकिएको छैन ।’

सहकारी संस्थाहरुमा बचतकर्ताले आफूलाई भन्दा पनि सदस्यको रुपमा चिनिनुपर्ने उनको धारणा छ । संस्थाले के गर्दै छ ? लगानी कता जाँदैछ ? लगायत संस्थाको बारेमा चनाखो बनेमा सहकारी संस्थाबाट ठगिने सम्भावना न्यून रहने उनी बताउँछन् । यदि ठगीमा परेको खण्डमा स्थानीय निकाय संघ र केन्द्रमार्फत लगानीकर्ताले उजुरी दिनसक्ने उनले बताए ।

कुनैपनि सहकारी संस्थामा आवद्ध हुनुपूर्व आफूले नजानेको नचिनेको ठाउँमा एक्लै गएर आवद्ध हुने भन्दा पनि समूहमा भएर आवद्ध हुनुपर्ने उनको भनाइ छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?