बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा महत पक्राउ

लोकपथ
104
Shares

जुम्ला । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्दननाथ नगरपालिका–७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले प्रकाउ गरेको छ । महतलाई चन्दननाथ नगरपालिका–५ जुगाडखोलाबाट शनिबार नै प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

पीडित बालिकाकी आमाले पनि महत्तविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएकी छन् । आरोपित महतले पटकपटक बलात्कार गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ । आरोपित महतले बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्नेगरी सहमतिमै वैशाख ०७९ मा लगेका थिए ।

आमाले जुम्लामै दोस्रो बिहे गरेकाले बालिका पनि जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला आएकी थिइन् । उनकी आमाले बजारमा व्यापार गर्छिन । बालिकाकी आमा र आमाकी बहिनी नाता पर्ने ईश्वरी आरसीसँगको कुराकानीपछि बालिकालाई महतले लगेका थिए ।

पीडित बालिकाका अनुसार महतले एक महिनासम्म पटक पटक बलात्कार गरेका थिए । महतले बलात्कार गरेको कुरा अरूसँग नभन्न र धम्की दिने गर्थे ।

छोरी बनाएर पाल्छु भनी लगेका महतले आफूलाई बलात्कार गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिएपछि पीडा सहन नसकेर बालिकाले मुसा मार्ने विष खाएकी थिइन । उनले विष सेवन गरेपछि घटना सार्वजनिक भएको थियो । घटना मिलाउन आरोपी महतले बालिकाको बैंक खातामा सात लाख रुपैयाँ राखिदिएको स्रोतको भनाइ छ । बालिका चन्दननाथ नमुना विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?