प्रतिष्पर्धी एउटै मोर्चामा : सिन्धुपाल्चोक-१ मा अग्नि कि मोहन ?

निर्वाचन रौनक

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तय गरेसँगै गाउँदेखि सहरसम्म निर्वाचनको सरगर्मी बढ्न थालेको छ । हरेक राजनीतिक दलका नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा दाबी प्रस्तुत गर्न थालिसके ।

साथै, चोक, चौतारा, चिया पसलदेखि सामाजिक सञ्जालसम्म कसको मत कति भन्नेबारे प्रक्षेपण हुन थालिसके । केही महिनाअघि मात्र सम्पन्न स्थानीय तहको निर्वाचनको मत परीणामले पनि कसको पल्लाभारी कति भन्ने बारे आँकलन गर्न सहज भएको छ ।

तर, यसपालीको निर्वाचन अलि रोचक हुने वाला भने पक्कै छ । देशका धेरै निर्वाचन क्षेत्रमा ‘हेवी वेट’ का नेताहरुको प्रतिष्पर्धा अनि कांग्रेस, माओवादीसहितको ५ दलीय गठबन्धनका कारण कुन ठाउँमा कसले टिकट पाउला भन्ने कौतहलताले निर्वाचनमा रौनकता थपेको छ ।

‘हेबिवेट’का नेताहरुबीच टिकटको रस्साकस्सी पर्ने ठाउँमध्ये एक हो– सिन्धुपाल्चोक । २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा यस पटकको निर्वाचन थप रोचक बन्ने देखिएको छ । त्यसमा पनि क्षेत्र नम्बर १ को निर्वाचनले धेरैले चासोका साथ हेरेका छन् । सभामुख अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतको क्षेत्र हो, यो । जहाँ गठबन्धनलाई भागबण्डा मिलाउन कठिन पर्ने देखिन्छ । माओवादीबाट सभामुख सापकोटाले निर्वाचन लड्ने इच्छा देखाएको अवस्थामा कांग्रेसले उक्त क्षेत्र छोड्नुपर्ने अवस्था आउँछ । यता पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बस्नेतले आफ्नो दाबी नछोड्ने र यदि पेल्न खोजे परिस्थिति थप जटिल बन्ने अभिव्यक्तिसमेत दिएका छन् ।

२०७४ को निर्वाचनमा बाम गठबन्धन (एमाले र माओवादी) बीच तालमेलबाट साझा उम्मेदवार बनेका सापकोटासँग बस्नेत पराजित भएका थिए । यसपाली गठबन्धनका लागि भनेर आफू ब्याक नहुने र यदि सापकोटाले दाबी नहटाएको अवस्थामा मित्रवत प्रतिस्पर्धा नहोला भन्न नसकिने भन्दै उनले चेतावनीसमेत दिए ।

गत निवार्चनमा १० हजारभन्दा बढी मतान्तरसहित बस्नेतलाई पराजित गरेका सापकोटाले ४० हजार ५ सय ४ मत ल्याएका थिए । भने बस्नेतले २९ हजार ७ सय ९८ मत प्राप्त गरेका थिए ।

स्थानीय तहको परीणामले के भन्छ ?

सिन्धुपाल्चोकमा गत स्थानीय निर्वाचनमा १२ वटा स्थानीय तहमध्ये ३ वटा स्थानीय तहमा मात्र गठबन्धन भएको थियो । बाँकी ९ स्थानीय तहमा भने मित्रवत प्रतिस्पर्धा भएको थियो । जिल्लाभर ५ स्थानीय तहमा जित हासिल गरेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । निर्वाचनमा जिल्लाको बाह्रविसे, मेलम्ची नगरपालिकासहित भोटेकोशी, त्रिपुरासुन्दरी र हेलम्बुमा कांग्रेसले जित निकालेको हो । जिल्लाका स्थानीय तहमा बढी सिट जितेको कारण पनि आफ्नो बलियो दाबी बनाउने पक्षमा छन् बस्नेत ।

यता चौतारा साँगाचोकगढी नगरपालिकासहित जुगल, बलेफी र लिसंखुपाखर गाउँपालिकाको प्रमुखमा जित हासिल गर्दै माओवादी केन्द्र दोस्रो बनेको छ । जसकारण गठबन्धन हुँदा सापकोटाको दाबी पनि उत्तिकै रहने उनी निकट नेताहरु बताउँछन् ।

देउवाको विश्वासपात्र मानिने बस्नेतले यस निर्वाचनमा आफू कुनै पनि हालतमा नछोड्ने अडानमा छन् । भने सिन्धुपाल्चोकको सो क्षेत्रबाट माओवादी केन्द्रले सापकोटालाई अघि बढाउने तयारीमा रहेको छ । निर्वाचनपछि दोस्रो कार्यकालका लागि सभामुख बन्ने तयारीमा रहेका सापकोटाले पनि आफ्नो दाबी नछाड्ने देखिन्छ ।

जिल्लामा कसको बढी सक्रियता ?

सिन्धुपाल्चोकलाई हरेक वर्ष केही न केही प्राकृतिक विपत्तिले सताइरहन्छ । त्यस्तो बेलामा राहत र उद्धारका मामलामा सभामुख सापकोटाको सुख दुःखको सारथी नबनेकोमा गुनासो सर्वसाधारणको छ ।

प्राकृतिक विपत्तिको खबरपछि हेलिकोप्टरबाट निरीक्षणमा पुगेर आश्वासनहरु बाँडे पनि त्यसलाई पूरा गर्न नसकेको आरोप धेरैको छ । तैपनि, पदीय मर्यादाका कारण निर्वाचनसम्बन्धि धारणाहरु बाहिर नआए पनि आफू उम्मेदवारको दाबीबाट नहट्ने दाउमा छन्, सापकोटा ।

यता बस्नेत भने कोरोना महामारी होस् या बाढी पहिरोमा जिल्लाका हरेक गतिविधिमा सक्रिय छन् । विभिन्न दातृ निकाय होस् या आफ्नै व्यक्तिगत पहलमा प्राकृतिक विपत्ति अन्य समस्यामा सहयोगी बनिरहेका छन्, बस्नेत । २०७४ सालको हारको बदला लिने दाउमा रहेका नेता बस्नेत निर्वाचनमा पराजयपश्चात देखि नै यही निर्वाचनको तयारीमा लागेका थिए । अघिल्लो संघीय निर्वाचनमा आफूले हारे पनि दुवै सो क्षेत्रका दुवै प्रदेश निर्वाचन क्षेत्रमा जिताएका कारण आफ्नो दाबीलाई नछाड्ने तयारीमा छन्, बस्नेत ।

स्थानीय निर्वाचनको परीणाममा को बलियो ?

स्थानीय निर्वाचनको परीणामलाई मूल्यांकन गर्ने हो भने सो क्षेत्रमा कांग्रेस अगाडि रहेको छ । क्षेत्र नं १ बाह्रबिसे नगरपालिकासहित अन्य ७ पालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको ६ वटा वडा पर्दछ । जसमा जितका हिसाबले कांग्रेस अघि देखिन्छ । कांग्रेस एक्लैले भोटेकोसी, त्रिपुरासुन्दरी र बाह्रबिसे नगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ । त्यस्तै सुनकोसी र बलेफी गाउँपालिकामा समेत उपप्रमुख जितेको छ । साथै दुवै पालिका (सुनकोसी र बलेफी ) मा वडाअध्यक्षमा समेत बहुमत रहेको छ । यता जुगल गाउँपालिकामा माओवादीसँगको सहकार्यमा कांग्रेसले उपाध्यक्षमा जित हासिल गरेको छ । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकामा समेत कांग्रेसले दुई वडामा जित हासिल गरेको छ ।

यसरी सो क्षेत्रमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले प्राप्त मतलाई हेर्ने हो भने कांग्रेस अगाडि देखिन्छ । क्षेत्र नं १ मा ५३ वटा वडा रहेकोमा कांग्रेस एक्लैले ३२ वटा वडामा जित हासिल गरेको हो । भने, माओवादी केन्द्रले ५ वटा वडामा जित हासिल गरेको छ । यता एमालेले १६ वटा वडामा जितेको छ । वडाध्यक्षले प्राप्त गरेको मतको कुरा गर्दा कांग्रेसले ३४ हजार ७ सय ६१ मत प्राप्त गरेको छ । जहाँ दोस्रो धेरै मत एमालेले प्राप्त गरेको छ । एमालेले २७ हजार ८ सय ३ मत प्राप्त गरेको छ । भने नेकपा माओवादी केन्द्रले १८ हजार ८ सय ५२ मत प्राप्त गरेको छ ।

कांग्रेसले पाएको मतको आधारमा पनि बस्नेत आफूले गठबन्धनलाई स्वीकार गरे पनि कुनै पनि हालतमा आफ्नो क्षेत्र माओवादीलाई नछाड्ने दाबीमा छन् ।

यसरी दुवै ‘हेबिवेट’ नेताले आ–आफ्नो दाबीलाई नछाड्ने हो भने गठबन्धनलाई सिन्धुपाल्चोक क्षेत्र नं १ मा टिकट वितरणमा कठिन पर्ने देखिन्छ । दुवै नेताको आ–आफ्नो अडान नछाड्दा कांग्रेस र माओवादीबीच मित्रवत प्रतिस्पर्धाको समेत सम्भावना रहेको एक नेताको दाबी रहेको छ ।

यस्तो छ बस्नेत र सापकोटाको राजनीतिक यात्रा

सापकाेटा 

२०६४ साल चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए सापकोटा । त्यसयता निरन्तर सिन्धुपाल्चोकबाट निर्वाचित भएका छन् । २०७० मा पनि उनी क्षेत्र नम्बर २ बाटै सांसद बने । त्यतिबेलासम्म सिन्धुपाल्चोकमा तीनवटा निर्वाचन क्षेत्र थिए । २०७४ निर्वाचन क्षेत्र निर्धारण आयोगले सिन्धुपाल्चोकमा २ वटामात्र निर्वाचन क्षेत्र निर्धारण गरेसँगै सापकोटाको प्रतिस्पर्धा बस्नेतसँग हुन थालेको हो । सापकोटा दुई पटक मन्त्री समेत भइसके । २०६८ सालमा सञ्चार एवं सूचना प्रविधि र २०७२ सालमा वन तथा भू–संरक्षण मन्त्री बनेका सापकोटा २०७६ साल माघ १२ गते तत्कालिन नेकपाको तर्फबाट सभामुखमा निर्वाचित भएका थिए ।

बस्नेत

विद्यार्थी राजनीतिबाट उदाएका हक्की स्वभावका नेता बस्नेत २०६४ सालमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट पराजित भएका थिए । त्यसपछिको दोस्रो संविधान सभाको निर्वाचनमा निर्वाचित भएका उनी तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बने । २०७४ सालको संघीय निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका उनी तत्कालिन बाम गठबनधनका उम्मेदवार सापकोटासँगै पराजित भए । भने यता पार्टी राजनीतिमा भने निरन्तर केन्द्रमा नै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?