जनैपूर्णिमा : जनै, डोरो अनि क्वाँटीको पर्व

काठमाडौं । श्रावण महिनाको पूर्णिमालाई श्रावणी पूर्णिमा भनिन्छ । नेपाली हिन्दू समाजमा यसलाई जनैपूर्णिमा पनि भनिन्छ । यसै दिन रक्षाबन्धन पर्व पनि मनाइन्छ ।

प्रत्येक पूर्णिमाको दिन दान तथा पवित्र नदीमा स्नान गर्नुको निकै ठूलो महत्व रहेको छ । वर्षमा १२ वटा पूर्णिमा हुन्छ । तर, श्रावण महिनाको पूर्णिमालाई विशेष मानिन्छ ।

नुसार मानिसहरुले चन्द्रदोष निवारण गर्न पनि श्रावण महिनाको पूर्णिमाका दिन विभिन्न कर्महरु गर्दछन् । श्रावण पूर्णिमाको दिन चन्द्रमा पूर्ण अवस्थामा हुने भएकाले यस दिन चन्द्रमाको पूजा गर्नाले चन्द्रदोषबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

ज्योतिषशास्त्र अनुसार श्रावणको पूर्णिमा चन्द्रमाले आफ्नो १६ वटा कला पूरा गर्ने भएकाले यस दिनमा गरिने शास्त्रीय विधिहरु अत्यन्तै लाभदायी हुने विश्वास गरिन्छ ।

त्यसैले यो दिन भगवान विष्णु र लक्ष्मीको पूजा आराधना गर्नुको साथै भगवान शिवको विशेष पूजा गरिन्छ । यो पूर्णिमा विशेषगरी जनै धारण गर्नेहरुको लागि विशेष मानिन्छ ।

श्रावण पूर्णिमा विभिन्न क्षेत्रहरूमा फरक–फरक तरिकाले मनाइन्छ । नेपालमा विशेषगरी श्रावण पूर्णिमाका दिन जनै धारण गर्ने, रक्षासूत्र (डोरो) बाँध्ने, पितृहरूको लागि तर्पण दिने, जिवजन्तुलाई भोजन गराउने तथा क्वाँटी खाने परम्परा रहेको छ ।

यज्ञोपवीत (जनै)

जनैपूर्णिमाको विशेष महत्व भनेको यज्ञोपवित अर्थात् जनै धारण गर्नु हो । आजको दिन स्नान गरी शुद्ध भइ पुरोहितद्वारा

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्रं प्रतिमुंच शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।।

मन्त्रको उच्चारण गर्दै जनै परिवर्तन गरिन्छ ।

काँचोधागो बाटेर वैदिक मन्त्र पढ्दै शिखा बनाएको जनैलाई मात्र शुद्ध मानिन्छ । त्यो पनि जनैपूर्णिमाको शुभ मुहूर्तमा प्रतिष्ठा गरेपछि मात्र धारणयोग्य जनै बन्छ ।

अहिले अधिकांशले ५–१० रुपैयाँमा पाइने बजारीया जनै लगाएर जनैपूर्णिमाको परम्परालाई बजरजस्ती मानिदिने चलन बसेको छ । तर, बजारमा पाइने त्यस्ता जनैको कुनै पनि अर्थ छैन ।

हिन्दू शास्त्रमा जनैको निकै नै महत्व रहेको छ । मानिसको सोह्र संस्कारमध्ये उपनयन (ब्रतवन्ध) संस्कार पनि एक हो । संस्कृतमा ‘उपनयन’को शाब्दिक अर्थ नजिकिनु भन्ने हुन्छ । जसको पूर्ण अर्थ ईश्वरसँग जोडिनु भन्ने हुन्छ ।

जनै धारण गर्नाले ईश्वरसँग नजिक हुनुको साथै नियम र धर्ममा बाँधिन्छ भन्ने विश्वास पनि रहेको छ । जनैलाई ब्रह्मा, विष्णु र शिवको प्रतिकको रुपमा लिइने भएकाले पनि हिन्दूधर्ममा यसको निकै ठूलो महत्व छ ।

जनैको वैज्ञानिक महत्व

जनैको धार्मिकसँगै वैज्ञानिक महत्व पनि उत्तिकै छ । अहिलेको ‘मोर्डन’ जमानामा कुनै पनि संस्कार, सँस्कृतिलाई युवा पुस्ताले सहजै स्विकार गर्ने अवस्था छैन । जे’मा पनि कारण खोज्छन्, त्यो पनि वैज्ञानिक ।

श्रीगजेन्द्रमोक्ष संस्कृत परिषद्का सचिव तथा युवा पण्डित सागर रिजाल (सनातन) भन्छन्, ‘जनैको धार्मिक महत्व त छँदै छ यसभित्र वैज्ञानिक महत्व पनि लुकेको छ । अहिलेको पुस्ताले धार्मिकभन्दा पनि वैज्ञानिक कारण खोज्ने भएकाले युवाहरुले जनैको धार्मिक तथा वैज्ञानिक कारण जान्न जरुरी छ । किनकि हाम्रो सँस्कृति तथा परम्परा उनीहरुकै हातमा छ ।’

पण्डित रिजालका अनुसार जनै लगाउने व्यक्ति नियमद्वारा बाँधिएको हुन्छ । शौचालयको प्रयोग गरेपछि हात खुट्टा धोएर कुल्ला गर्ने बानी बस्ने भएकाले यसले मानिसलाई सरसफाईप्रति पनि प्रेरित गर्छ ।

शौचालय जानुअघि कानको वरिपरि दुई पटक जनै बेर्ने चलन छ । कानको पछाडिका दुईवटा नसाहरू पेटको आन्द्रासँग सम्बन्धित रहेका हुन्छन् । यसरी कानमा जनै बेर्दा उक्त नसामा दबाब पर्छ जसले गर्दा पेट सफा हुन्छ ।

हाम्रो दाहिने कानको नसा अण्डकोष र जनेन्द्रियसँग जोडिएको हुन्छ । दाहिने कानमा जनै बेरेर पिसाब फेर्दा यसले हाम्रो शुक्रकीटको पनि सुरक्षा गर्छ ।

चिकित्सकहरुका अनुसार जनै देब्रे काँधबाट मुटुको छेउ हुँदै जाने भएकाले यसले मुटु रोगको सम्भावना कम गराउँछ । जनैले रक्तसञ्चारलाई सहज रुपमा सञ्चालन गर्न पनि सहयोग पुर्‍याउँछ ।

रक्षासूत्र (डोरो)

येन बद्धो बलीराजा दानवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

जुन धागोले दानवहरुको राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दैछु भन्दै पुरोहितले यजमानलाई रक्षासूत्र बाँधिदिन्छन् ।
हिन्दू पुराणहरुमा रक्षासूत्रको महत्वलाई विभिन्न पौराणीक कथाहरूको माध्यमबाट उजागर गरिएको छ । श्रीमद्भागवत महापुराण, स्कन्ध पुराण, पद्मपुराण तथा भविष्य पुराणमा रक्षासूत्र अर्थात् रक्षाबन्धनको बारेमा उल्लेख गरिएको पाइन्छ ।

देवताका गुरु वृहस्पतिले मन्त्र उच्चारण गर्दै इन्द्रको हातमा रक्षाबन्धन बाँधिदिएपछि देवताले दानवलाई युद्धमा पराजित गरेको कथा भविष्य पुराणमा पाइन्छ । गुरु वृहस्पतिले इन्द्रको हातमा रक्षाबन्धन बाँधेको दिन श्रावण शुक्ल पूर्णिमा रहेको भविष्य पुराणमा उल्लेख छ । श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन गरिनु यो पनि एउटा कारण भएको पण्डित वासुदेव कौडिन्य बताउँछन् ।

किन खाइन्छ क्वाँटी ?

क्वाँटीलाई अलग राख्दा नेपाली समुदायमा जनैपूर्णिमामा खल्लो मानिन्छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ र सानो केराउ गरि नौ थरीका गेडागुडीलाई क्वाँटीको रुपमा लिइन्छ । केहिदिन अघि नै भिजाएको क्वाँटीलाई भिजेपछि सफा कपडामा पोको पारेर टुसा उमार्नको लागि राखिन्छ र जनैपूर्णिमाका दिन त्यसलाई पकाएर खाइन्छ ।

नेपाल भाषामा तातो झोललाई क्वाँटी भनिन्छ । जनैपूर्णिमाका दिन क्वाँटी खानुपर्छ भन्ने कुनै पनि प्रमाण भने छैन । यो नेपाली समुदायको एउटा परम्परा मात्र हो ।

असारदेखि धान रोप्न सुरु गरेका किसानहरु हिलो र पानीमा भिजेर रुघा, खोकी तथा थकानले ग्रस्त भएका हुन्छन् । यही थकानबाट मुक्त हुन किसानहरुले विभिन्न गेडागुडीहरुलाई पकाएर त्यस्को झोल खाएको र पछि यसले एउटा परम्पराको रुप नै लिएको श्रीगजेन्द्रमोक्ष संस्कृत परिषद्का सचिव तथा युवा पण्डित सागर रिजाल बताउँन् ।

क्वाँटीमा समावेश भएका ती नौ थरीका गेडागुडीमा हाम्रो शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्वहरु पाइने भएकाले पनि क्वाँटीको विशेष फाइदा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?