‘काठमाडौं क्षेत्र नं ६ मेरो रोजाइ हो, भीमसेन सरको सहयोग मलाई रहन्छ’ (भिडियोसहित)

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै देशभर निर्वाचनको माहोल तात्न थालेको छ । देशभर विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु निर्वाचनको तयारीमा जुटेका छन् । कतिपयले त आगामी निर्वाचनमा आफ्नो दाबी समेत प्रस्तुत गर्न थालिसके ।

देशको संघीय राजधानी रहेको काठमाडौंमा पनि चुनावको माहोल झन् धेरै तात्न थालेको छ । सो क्रममा समग्र काठमाडौंमा नेपाली कांग्रेसको अवस्था कस्तो छ ? प्रतिनिधि सभाको १० वटा निर्वाचन क्षेत्रमा कांग्रेसको नतिजा कस्तो आउला ? भन्ने विषयमा नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँसँग लोकपथकर्मी प्रकाश पुडासैनीले गरेको कुराकानी : 

सरकारले निर्वाचन घोषणा गरेसँगै देशभर माहोल तातेको अवस्था छ । यतिबेला काठमाडौंमा चाँही कस्तो छ निर्वाचनको माहोल ?

निर्वाचनका कारण पार्टी संगठनका नेता कार्यकर्ताहरुमा उत्साह छाएको छ । अब आउने जनप्रतिनिधिहरूले अहिलेको अवस्थालाई परिवर्तन गर्न केही नयाँ अभियान लिएर आउँछन् भन्ने आशाले जनता पनि खुसी छन् । यो काठमाडौंमा मात्र होइन देशभरकै अवस्था हो । त्यसैले सबैले निर्वाचनलाई स्वागत गरेका छन् ।

स्थानीय निर्वाचनको कुरा गर्ने हो भने कांग्रेसले काठमाडौं महानगर समेत गुमाएको अवस्था छ । यस्तो अवस्थामा आम निर्वाचनमा कस्तो परिणाम आउला ? तपाईंले यसलाई कसरी हेर्नुभएको छ ?

हो, कांग्रेसले काठमाडौं महानगरको नेतृत्व गुमाएको छ । यसलाई हामीले राम्रोसँग मनन गरी विश्लेषण गर्नुपर्नेे परिस्थिती सिर्जना भएको छ । तर, हामी समग्रतामा भने १९ वटा वडा जित हात पारेका छौं । कार्यपालिकाका सदस्यहरुमा बहुमत छ, त्यसैगरी महानगर समितिमा हामीले बहुमत ९५ सदस्य जितेका छौँ । सिङ्गो कार्यपालिकामा र महागनर परिषद्मा हामी बहुमत छौँ । तर, हामीले प्रमुख पद गुमायौं । यसबारेमा संगठनभित्र भएका कमिकमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने देखिन्छ ।

अब म सिङ्गो काठमाडौं जिल्लाभित्रको कुरा पनि स्मरण गराउँछु । काठमाडौंमा १० वटा नगरपालिका र एउटा महानगरपालिका छ । महानगरपालिका हार्दै गर्दा पनि १० वटा नगरपालिकामा हामीले ७ वटामा मेयर जितेका छौँ । २ वटा नगरपालिकामा उपमेयरमा मात्रै जितेका छौँ । खाली रहेको भनेको एउटा नगरपालिका हो ।

तर, सिंगो स्थानीय तहको निर्वाचन हेर्दा सिंगो कांग्रेसको संगठन, हिजोदेखिको क्रियाशिलता, संगठनमा लागि पर्नु हुने नेताहरुको क्रियाशीलता र जुन लगानी गर्नुभएको छ । त्यसअनुसारका नतिजा भने नआएकै हो ।

यतिबेला सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले गठबन्धन गरेरै निर्वाचनमा जाने निर्णय गरेको छ । तपाईंको नजरमा यो ठिक हो कि होइन ?

गठबन्धन गरेर जानुपर्ने अहिले परिस्थिती निर्माण भएको छ । यो गठबन्धन निर्वाचनमा स्वच्छ किसिमले गरेर जाँदा राम्रै हो । स्थानीय तहको निर्वाचनले गठबन्धनलाई अझै पनि कसिलो र दर्बिलो बनाउनु पर्ने हो तर, सकेको छैन । स्थानीय निर्वाचनमा गठबन्धनमा भएका कमीकमजोरीबारे सबैले सोच्नैपर्छ ।

तर, आगामी निर्वाचनमा गठबन्धन गर्दा नेताहरुले जुन सोच राखेर गर्नुभएको छ । त्यसलाई स्पष्ट साथ सबैले आ–आफ्नो क्षेत्रबाट जिताउनै पर्छ भनेर लाग्ने हो भने गठबन्धनले फाइदा नै पुग्छ । यदि त्यस्तो प्रण नगर्ने हो भने गठबन्धनले फाइदा नगर्ला कि !
गत स्थानीय निर्वाचनको कुरा गर्दा ‘हेवि वेट’ नेताहरुकै वडामा कांग्रेसले हारेको छ । यस्तो अवस्थामा कांग्रेसले कस्तो परिणाम ल्याउला ?
अहिलेको अवस्थामा निर्वाचनलाई सामाजिक सञ्जालदेखि मिडियासम्मका कुराले प्रभाव पारेको अवस्था छ । जनताले नविन विचारलाई स्वागत गरेका छन् भन्ने केही दृष्टान्त हाम्रै सामू छन् ।

जस्तैः काठमाडौं महानगरपालिकामा पनि संविधानले प्रद्दत्त गरेको अधिकार र त्यस अन्तर्गत रहेर सञ्चालन गर्नुपर्ने तहहरु छन् । तर, त्यहाँ कानुन बनाउने, राज्यका सम्पूर्ण संरचनालाई फेरबदल गर्न सक्ने शक्तिलाई त जिताएको होइन नि । देशको कार्यकारिणी पद राष्ट्रपति प्रधानमन्त्रीलाई स्वतन्त्रमा जिताएको भए केही नयाँ हुन्छ कुराको थालनी हुन्छ कि भन्ने आसा हुन्थ्यो । अब महानगरको मेयरलाई जिताएर के गर्ने ?स्वतन्त्रलाई जिताएर तीन महिनासम्म जनताले के पाए त ? के परिवर्तन भएको छ ? प्रश्न उठ्न थालेको छ ।

स्थानीय तह परिचालन गर्ने सम्पूर्ण कार्यक्षेत्रहरु तोकिदिएको छ । त्यसमा बहुमत चाहिन्छ, सबैको भावनाको कदर हुनुपर्दछ । त्यसकारण दलीय व्यवस्थामा आएर स्वतन्त्रले निर्दलीय व्यवस्थामा जस्तोे स्वतन्त्रले जित्नु भनेको नेताहरुप्रतिको तिक्तता, नेताहरुप्रति हेर्ने दृष्ट्रिकोण, नेता कार्यकर्ताहरुसँगको वितृष्णा हो भन्ने हामीले बुझ्नुपर्दछ । यो हामी सबैको लागि चुनौती हो र त्यसबाट पाठ सिकेर, सचेत भएर हामीले बेलैमा कमी कमजोरीलाई स्वीकार गर्दै अघि बढ्नुपर्ने देखिन्छ ।

तर, लोकतन्त्रमा आस्था राख्ने हामीले स्वतन्त्रले जित्दाखेरी नस्विकार्ने भन्ने भएन तर स्वतन्त्रले के जित्दा के पाए भन्ने चाहिँ मूख्य कुरा हो ।
निर्वाचनपछि जनताको मनोभावना के रहेछ ? र, के कारणले चाहिँ जनताले स्वतन्त्रलाई जिताएका रहेछन् भन्नेबारे जनभावना बुझ्नुभयो ?
जनताले आवेगमा आएर परिवर्तन खोजेको जस्तो लाग्यो । विधि विधान र संविधानले प्रद्धत्त गरेका कुराहरु हेर्नुभएन । अहिलेको राज्य संरचना कुन परिस्थितीमा चलेको छ भन्ने कुरामा उहाँहरुले हेक्का राख्नुभएन । तर, यसले हामी जस्तो पार्टीका नेताहरुलाई एउटा सजग र सबक सिकाएर गयो ।

तपाईंसँग त २०५४ सालमा जनप्रतिनिधि भएर काम गरेको अनुभव पनि छ । नेपाली कांग्रेस काठमाडौंको दोस्रो कार्यकालको नेतृत्व गरिरहनुभएको छ । अनि तपाईं पनि त निर्वाचनमा उठ्ने होला नि ? के छ तयारी ?

म त तयारीमै छु नि । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको पहिलो कार्यकाल सभापति भएर दोस्रो कार्यकाल भर्खरै सुरु गरेको छु । जसरी मैले हिजोका दिनमा उम्मेदवारीमा आफ्नो दाबीबाट पछि हट्ने परिस्थिती भयो । निर्वाचनको उम्मेदवारीका लागि तयारी गरेको १५ वर्ष भैसक्यो । तर, पटक–पटक अन्तिम समयमा आएर मैले दाबी छोडेँ । यो अवस्थासम्म संगठनले मलाई विश्वास गर्यो, सबै कुरा गर्यो तर निर्वाचनमा जाने कुरामा मलाई सहयोग गरिएन । अब भने मेरो दाबी स्वतः रहन्छ ।

अब तपाईंको दाबी त काठमाडौं क्षेत्र नम्बर ६ बाटै त होला नि होइन ?

यो त जगजाहेरै छ नि । यसअघि पनि मेरो दाबी यही क्षेत्रमा हो । तर, हामीले क्षेत्र नं ६ बाट भीमसेनदास प्रधानलाई जिताएर पठायौं । अब चाहीँ पूर्व सहमति जस्तो पनि छ, र अर्को कुरा जनताले पनि नयाँ अनुहार खोजिरहेका छन् । त्यसैले निर्वाचन लड्ने कुरा हिजो जस्तो थियो आज पनि त्यस्तै छ । मेरो अझ बढी सम्भावना बढेको छ । मैले सो निर्वाचन क्षेत्रबाट जित्ने प्रशस्तै कारण र आधारहरु पनि छन् । अर्को कुरा ६ नम्बरबाट पटक–पटक प्रतिनिधित्व गर्नुभएका भीमसेन सरको समर्थन पनि मलाई नै रहनेछ भन्ने विश्वासका साथ अघि आउन खोजेको छु ।
उहाँ प्राज्ञिक व्यक्तित्व पनि हो । त्यसैले एकै व्यक्ति एकैठाउँबाट धेरैपटक निर्वाचन लड्दा संगठनमा असर पर्दछ भन्ने कुरा बुझ्नु भएको छ । दुई पटक भन्दा बढी म चुनाव लड्दिन पनि भन्नु भएको थियो ।तर, तीन पटक उठ्नुभयो र दुई पटक जित्नु नै भयो । उहाँ एउटा राजनीतिक प्राणी हो । एउटा नेताले दुई पटक भन्दा तीन पटक लड्नु हुँदैन भन्ने अभियानकै अभियन्ता हो । त्यसैले उहाँले नै बोलिसकेको कारण पनि यसपटक मलाई समर्थन गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।

आम निर्वाचनमा तपाईं सांसदको उम्मेदवार भएको अवस्थामा तपाईंले जनतासामू प्रतिवद्धता व्यक्त गर्ने प्राथमिकताका क्षेत्रहरु के–के हुन् ?

मेरा प्राथमिकताका क्षेत्रहरु धेरै हुन्छन् । म खाइ खेली हिँडेको ठाउँ हो, क्षेत्र नम्बर ६ । मेरो राजनीतिक यात्रा पनि यही क्षेत्रबाट सुरु भयो । त्यसैले यहाँको प्रत्येक समस्यासँग परिचित छु । अनि अर्को कुरा, मैले तल्लो तह गाविसको समेत नेतृत्व गरिसकेको छु । त्यसैले सामान्य नागरिकका समस्या के के हुन् भन्ने कुरा मैले जति अरु कसले बुझेको होला र !

गाविस अध्यक्षपछि नै संघको चुनाव लड्छु भनेर अघि बढेँ । गएको निर्वाचनमा धेरैजनाले प्रदेश वा अन्य क्षेत्रमा जान पनि सुझाव दिए । तर, मैले दुःख गरेको क्षेत्र त यही हो नि । त्यसैले बरु पर्खन्छु अन्यत्र जान्न भन्ने निर्णय गरेँ । त्यसैले मेरो प्रतिवद्धता भनेको यहाँका आधारभूत आवश्यकता परिपूर्ति गर्ने कुरामा नै हो ।

अनि अर्को कुरा, अहिले समग्र ६ नम्बर क्षेत्र एउटा नुवाकोटको पहाडसँग सिमाना जोडिएको छ भने अर्को महानगरसँग सिमाना जोडिएको छ । बागबजार पुतलीसडकसम्म जोडिएको छ । दुवै क्षेत्रलाई समन्वय गरेर, दुवैका समस्यालाई दृष्ट्रिगत दिगो समाधानको बाटो पहिल्याउने छु । अहिले जुन किसिमले क्षणिक रुपमा आनन्द लिनेगरी विकास भइरहेको त्यो कुरालाई म चिरेर अघि बढ्नेछु । पर्यटकीय क्षेत्र ठमेल, एजुकेसन हब बागबजार पुतलीसडक लगायतका सम्भावित क्षेत्रहरुलाई एकीकृत रुपमा विकास गर्ने मेरो सधैं प्रतिवद्धता रहन्छ ।

यसपाली पनि तपाईंलाई पार्टीले उम्मेदवार बनाएन भने के गर्नुहुन्छ ?

त्यो त कुरै भएन नि । हिजो नहुँदा पनि अर्कोबाट लड्न गइएन । राजनीतिमा भएन भन्ने कुरा आफ्नो कार्यक्षेत्रको कुरा हो । काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र छ । सबै ठाउँमा नेताहरु हुनुहुन्छ । मेरा अग्रज मान्य नेताहरु पनि हुनुहुन्छ । मेरा साथीभाइ पनि हुनुहुन्छ । सबैको आ–आफ्नो क्षेत्र छ नि त । मैले गएर कसको क्षेत्रमा गएर उठ्छु भन्ने ? जित्नको लागि आफ्नो कर्मशील भएर जहाँ लागेको हुन्छ त्यहीबाट उठ्ने त होनी । त्यही भएर मेरो सबै चिज भनेकै क्षेत्र नं ६ मै छ, म त्यहिँबाट उठ्छु । अन्त जान्न ।

तपाईं त काठमाडौं कांग्रेसको सभापति पनि हो । काठमाडौंका सबै निर्वाचन क्षेत्रमा कांगेसका उम्मेदवार विजयी गराउनका लागि काठमाडौं कांग्रेसले कसरी काम गरिरहेको छ ?

सिंगो संगठन चलायमान छ, जुन मेरो दायित्वभित्र रहेको मेरो जिल्ला समिति, क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, नगर कार्यसमितिहरु र अहिले त इकाइ कार्यसमिति बुथ कार्यसमितिहरुसम्म सक्रिय भएको अवस्था छ । सम्पूर्ण समितिहरु क्रियाशील भएर यो चुनावलाई आफ्ना पक्षमा ल्याउनका लागि सबै पार्टीगत र नेतृत्वगत रुपमा लागि परेको छ ।

त्यसैले हामी काठमाडौंमा अघिल्लो निर्वाचनमा भन्दा धेरै क्षेत्रमा चुनाव जित्छौँ । किनभने हामीले स्थानीय तहमा जितेको आधारले पनि त्यसलाई प्रष्ट पार्छ । तर, अझै हाम्रो संगठनभित्र मिलाउन पर्ने धेरै कुराहरु बाँकी छन् । हामी त्यो मिलाउने कोशिसमा छौँ । त्यो सबै मिलिसकेपछि काठमाडौंमा सबै क्षेत्रमा जित हासिल गर्न सक्छौँ।

दुई कार्यकाल पार्टी सभापति भएर काम गर्नुभयो, यतिबेला काठमाडौंमा कांग्रेसको संगठनको अवस्था ?

संगठन एकदम चलायमान रहेको पाएको छु । स्थानीय तहको निर्वाचनमा महानगरमा जिताउँन सकेनौँ त्यो कुराको हामीलाई दुःख छ । त्यसमा हामीभित्रै भएका कपितय कुराहरुको कारण हामीले त्यो हार भएको हो भन्ने स्वीकार गर्नुपर्छ । अर्को कुरा एउटा महिला नेतृ आएको कुरा र हिजोको इतिहासलाई हामीले बुझाउन सकेनौँ । २०१५ सालमा वीपी कोइरालाले द्वारीकादेवी ठकुरानीलाई मन्त्रीमा नियुक्त गरेर कांग्रेसले इतिहास देखाएको थियो । अहिले पनि त्यो अवसर आएको थियो । तर, राजधानी जस्तो ठाउँमा कांग्रेसले महिला नेतृत्व अघि सारे पनि जनतालाई हामीले बुझाउन सकेनौँ । मतदातालाई राम्रोसँग बुझाउन नसक्नु नै हारको मूख्य कारण हो भन्ने हाम्रो समिक्षा भएको छ ।

त्यसमा परिवारवाद हाबी भयो भन्ने आरोप प्रशस्तै छ नि ?

सिर्जना सिंह गणेशमान सिंहको बुहारी, मंगलादेवीको बुहारी र प्रकाशमान सिंहको श्रीमती मात्र होइन । उहाँको आफ्नै इतिहास छ । आफ्नै संघर्ष र राजनीतिक त्याग छ । नेविसंघ महिलासंघ हुँदै आएको नेतृलाई परिवारवादमा मात्रै खुम्च्याएर हेर्नु अलि न्यायसंगत हुँदैन कि ! विवाह भन्दा पहिले नै ठूलो संघर्ष गरिसकेर आएको मान्छे घरव्यवहारमा सक्रिय हुनुभयो । त्यसमा हामी कसैलाई मन पराउनु नपराउने कुरालाई परिवारवादमा लगेर त्यहाँ जोड्नु उपयुक्त हुँदैन ।

देशभरबाट कांग्रेसको परिणाम कस्तो आउला ? कसरी हेर्नुभएको छ ?

पछिल्लो समय म जुन–जुन जिल्लामा पुगेँ वा त्यहाँबाट आउने नेता, साथीभाइहरुसँग कुरा बुझ्दा संगठनभित्र अझै केही कुरा मिलाउनै बाँकी छ । त्यो मिलाउँदा अति राम्रो हुन्छ, त्यही पनि अहिलेको अवस्थामा नै हामी निर्वाचनमा जाँदा हामीले बहुमत ल्याउँछौँ भन्ने पूर्ण विश्वस्त छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?