अरिंगालबाट आलोचित भएका प्रधानमन्त्री ओलीले भने, ‘अब मौरी जस्तो एकजुट भएर काम गर्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)का अध्यक्ष केपी शर्मा ओलीले मौरी जस्तो एकजुट भएर देश र जनताको हितका लागि काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।  

वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा शनिबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले  प्रतिक्रियाबादीविरुद्ध अरिंगालजस्तो गरी हमला गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएर आलोचना खेप्नुपरेको बताउँदै अब मौरी जस्तो एकजुट भएर देशको हितका लागि काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । साथै जनताको विश्वास र भरोसालाई तलमाथि हुन नदिन समेत आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओलीले आफ्ना स्वार्थ त्यागेर देशका स्वार्थ केन्द्रमा राखेर काम गर्न समेत आग्रह गरेका छन् ।  

‘आज मौरी भन्छु । कर्मी मौरीजस्तो एकजुटताका साथ अघि बढ्ने हो’ प्रधानमन्त्री ओलीले भने, ‘बाँड्न सकिने गरी देशमा मह जम्मा गर्ने काममा हामी लाग्नुपर्छ । सहज ढंगले देश बनाऔं । सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार छ ।’

उनले कम्युनिष्ट एकताबद्ध हुँदा कोही नतर्सन आग्रह गर्दै सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनको चरण पूरा भएकाले अब साना कुरामा अल्मलिएर नभई कर्मी मौरीझैँ लागेर समृद्धिको दायित्व पूरा गर्न सबै लाग्नुपर्ने बताए । 

उनले भने, “यो विश्वासमा धरमर ल्याउन पिपिरी बजाउनेहरू छन् । यसले केही हुनेवाला छैन । हाम्रा कामले जनताका विश्वासमा तलमाथि हुन दिइने छैन । अग्रजहरूका महान् उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ ।” 

प्रधानमन्त्री ओलीले अब शान्ति प्रक्रिया टुंगोमा पु–याएकोले अब आर्थिक विकासका लागि आफूहरु अघि बढेको पनि बताए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलताका बीच पनि आफूलाई समाजवाद र समृद्धिका लागि सतिसालजस्तै प्रस्तुत गर्नु नेत्री साहनाको साहसी कदम भएको बताए । उनले कम्युनिष्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको जनाए । 

नेकपाका नेता झलनाथ खनालले राणा शासन हुँदै पञ्चायतविरोधी आन्दोलनमा नेत्री प्रधानको स्थान महत्वपूर्ण रहेको जनाउँदै प्रधानले संविधानसभाको निर्वाचन, लोकतान्त्रिक संविधान निर्माणमा समेत प्रेरणादायी भूमिका निर्वाह गरेको बताए ।  

त्यस्तै अर्का नेता वामदेव गौतमले नेपालमा कम्युनिष्ट विचारलाई सङ्गठितरूपमा फैलाउन पुष्पलाल हुँदै साहना प्रधानको भूमिका ऐतिहासिक रहेको बताए । 

विसं २०४६ को जनआन्दोलनमा नेत्री प्रधानले वाममोर्चाको अध्यक्षका हैसियतले काम गरेका थिए । प्रधानको स्मृतिमा युवा नेत्री रामकुमारी झाँक्रीको नेतृत्वमा स्मृति प्रतिष्ठान गठन भएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?