काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दैैछन् ।
नेपाली प्रतिनिधि मण्डलका २० जना उच्चस्तरीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार राति ९ बजे त्यस तफ प्रस्थान गर्ने छन् ।
अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको हुन् ।
टोलीमा प्रधानमन्त्री ओलीसहित पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरु, प्रधानमन्त्री कार्यालयका अधिकारीहरु सहभागी हुने छन् । त्यस्तै नेपाली प्रतिनिधि मण्डलमा न्युयोर्कस्थत नेपाली नियोगबाट अधिकारीहरुसमेत सहभागी हुने छन् ।
भ्रमण टोलीमा नेपाल सरकारका वरिष्ठ अधिकारी पनि सहभागी छन् ।
‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ असोज २ गतेबाट ७३ औं महासभा शुरु भइसकेको छ ।
प्रधानमन्त्री ओलीले महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको सदस्य राष्ट्रको प्रतिनिधि सम्बोधन तालिकामा असोज ११ गते बिहीवार (सेप्टेम्बर २७) स्थानीय समय अनुसार दिउँसो ३ बजेदेखि राति ९ बजेसम्मको सत्रमा नेपालको तर्फबाट सम्बोधन हुने कार्यक्रममा उल्लेख छ ।
महासभामा असोज ९ देखि असोज १५ सम्म सदस्य राष्ट्रका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका बनेको छ । जस अन्तर्गत नेपालका तर्फबाट सरकार प्रमुखले सम्बोधन गर्ने सूचीमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओलीले १ सय ४ वटा देशका राष्ट्र, सरकार र प्रतिनिधि मण्डल प्रमुखहरुले सम्बोधन गरेपछि मात्र सम्बोधन गर्ने छन् ।
महासभामा प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा अतिकम विकसित राष्ट्र(एलडीसी) र अतिकम विकसित भूपरिवेष्ठित राष्ट्रको हित, जलवायु परिवर्तन, गरिबी निवारणलगायतका मुद्दालाई प्राथमिकताका साथ उठाउने मन्त्रालय स्रोतले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले युनजिए–७३ को साइडलाइनमा केही उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम बनिरहेको छ । प्रधानमन्त्री ओलीले केही मित्रराष्ट्रका प्रधानमन्त्री÷राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने गरी कार्यक्रम समेत रहेको स्रोतले जनाएको छ ।
यसैगरी प्रधानमन्त्री ओली उत्तर अमेरिकाबाट दक्षिण अमेरिका भ्रमणमा समेत जाने कार्यक्रम समेत रहेको बताइएको छ । दक्षिण अमेरिकी राष्ट्र कोस्टारिकाबाट भ्रमणको निम्तो आएको हुँदा प्रधानमन्त्री ओली त्यस तर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया