भाजपा नेता जोलीको प्रम ओलीलाई पत्र : ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा खतरा छ, छिटो मर्मत गर्नुहोस्’

नयाँदिल्ली । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवं नेपालमा मिलाका जानकार विजय जोलीले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग (रनवे) मा खतरा रहेको भन्दै चिन्ता  व्यक्त गरेका छन् । 

जोलीले आज यस बारेमा चिन्ता व्यक्त गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र पठाएका छन् । उनले अहिले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था नाजुक रहेको भन्दै पत्र मार्फत नेपालका प्रधानमन्त्री ओलीसँग चिन्ता व्यक्त गरेका छन् । 

नयाँदिल्ली बाटै जोलीले नेपाल सरकारलाई यस्तो पत्र जारी गर्दै त्रिभुवन विमानस्थलको अवस्था खतरा युक्त भएकोले यसलाई यथाशक्य चाँडो पूनर्निर्माण गर्न सल्लाह समेत दिएका छन्। 

हालै भएको युएस बंगला विमान दुर्घटनाबाट ठूलो मानवीय क्षति भएको र टर्किश एयर लाईन्सको टिके–७२६ फ्लाईट पनि ठूलो दुर्घटना हुनबाट जोगिएको स्मरण गर्दै उनले नेपाल नागरिक उड्ययन प्राधिकरणको यस बारेमा ध्यान जानुपर्ने धारणा राखेका छन्। 

यसअघि जोलीसँग नेपालका पब्लिक सेक्टरईनोमा दिपेन्द्र कँडेलले भेटेर नेपालको त्रिभुवन विमानस्थलको धावन मार्गमा खराबी रहेको दृष्टान्त सुनाएका थिए। 

गत अगष्ट ८ तारिखका दिन कँडेल सवार मस्कटबाट काठमाडौं उडेको डब्लुटी-३३७ विमान काठमाडौं अवतरणका क्रममा आकाशमै धेरै बेर होल्ड भएको स्मरण गर्दै  कँडेलले नेता जोलीलाई सुनाएका थिए, “हामी सवार विमान त्रिभुवन विमानस्थलमा अवतरण हुन ढिलाई भएको थियो । धेरै बेर चालकले विमानलाई आकाशमै होल्ड गरेका थिए । यसको मुख्य कारण चाहीँ विमानस्थलको धावन मार्गको मर्मत सम्भार थियो । तर, विमान स्थलका कर्मचारीले विमान चालकलाई मौसमको खराबी भनेर गलत सूचना प्रवाह गरेका थिए । यो अत्यन्तै दुःखद कुरा हो ।”

जोलीले जारी गरेको विज्ञप्तीमा भनिएकोछ,“ई। दिपेन्द्र कँडेलले यस अघिनै नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीलाई गत अगष्ट १३ तारिखमा विमानस्थलको धावन मार्गको खराबी बारे ध्यानाकार्षण गराई सक्नु भएको छ । नेपाल सरकारले पनि सार्वजनिक रुपमै त्रिभुवन विमानस्थलको धावन मार्गको मर्मत आगामी सन् २०१९ को फेब्रुअरीपछि मात्रै गर्ने घोषणा गरेको छ।”

सन् २०१९ को फेब्रुअरीपछि मात्रै मर्मत सम्मार गर्दा धेरै ढिलो हुने भन्दै नेता जोलीले नेपाल सरकारको ध्यानाकार्षण गराएका छन् । उनले भनेका छन्,“यो अस्विकार्य छ । र, सबै अन्तर्राष्टिय एयर लाईन्सहरुको लागि खतरा छ । नेपाल सरकारले अब एक घण्टा पनि विलम्बन गरी यसको मर्मत सम्भार अथवा पूर्ननिर्माणमा लाग्नु पर्छ ।होईन भने यसबाट हुने दुर्घटनाले धेरै ठूलो मानवीय क्षति हुने खतरा मैले देखेको छु।” जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?