मनोहरा खोलाको बाढीले ७५ लाख बराबरको क्षति

लोकपथ
130
Shares

काठमाडौं । काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा बुधबार राति आएको बाढीले रु ७५ लाख बराबरको क्षति भएको छ ।

बाढीले सुकुमवासी बस्ती, खोला आसपासका अन्य बस्ती, काँडाघारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ । सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले बाढीपीडित बस्तीको अवलोकन गरी पीडितको समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे ।

यसैगरी मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठसहितको टोलीले दिव्यश्वरी जग्गा एकीकरण आयोजना, मनोहरा सुकुमवासी बस्ती लगायतको बाढीपीडित क्षेत्रमा अवलोकन गरी क्षतिको बारेमा जानकारी लिए ।

भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बाढीग्रस्त क्षेत्रको अवलोकन गरी क्षतिको विवरण संकलन गर्न आग्रह गरिन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बाढीले बङ्गुर, हाँस, कुखुरा लगायतका पशु चौपाया बगाउँदा र खाद्यान्न डुबानमा रु ७५ लाख बराबरको क्षति पुगेको जानकारी दिए ।

यसबाहेक सुकुम्वासी बस्तीकै पाँच घर भत्किएको, दिव्यश्वरीको एक घर बगाएको, काँडाघारी प्रहरी प्रभागको मेस नै भत्किएको, दिव्यश्वरी आयोजनाका खोला किनाराको कालोपत्र सडक नै कतै बगाएको र कतै चिरिएर भासिएको उनले जानकारी दिए ।

खोला किनारामा रहेको काठमाडौँ तर्फ पाँच घर बगाएको छ । बस्तीमा पानी पसेपछि नेपाल रेडक्रस सोसाइटी भक्तपुरको विपद् व्यवस्थापन टोली राति नै परिचालन भएर बाढीपीडित क्षेत्रमा राहत वितरण तथा उद्धारकार्य गरेको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिए ।

रेडक्रसकर्मी धर्मराज कार्कीको नेतृत्वमा रातिबाट नै स्वयंसेवक टोली परिचालन गरी खोज तथा उद्धारलगायतका काम गरेको, बुधबार दिउँसो क्षतिको विवरण संकलन गरेको र आज राहत वितरण गर्ने कार्य अगाडि बढाएको सभापति थापाले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका कार्यालय प्रमुख उमा थापाले रेडक्रसले गरेको क्षति विवरण संकलनमा सुकुम्वासी बस्तीमा पाँच, बस्ती भन्दामाथि ११ गरी १६ घर तथा टहरा भत्किएको, सुकुमवासी बस्तीको ३०० घर टहरामा क्षति पुगेको, जस्ताले काटेर एकजना घाइते भएको र खानेपानीको अभाव रहेको बताइन् ।

उनले भनिन्, “सुकुमवासी बस्तीमा बाढी पसेपछि हैजाको सङ्क्रमणको जोखिम बढेको छ, त्यहाँ ट्युबवेलबाट निकालेको पानी परीक्षण गर्दा पिउन योग्य छैन, पानी शुद्धीकरणका लागि यसअघि पनि रेडक्रसले सहयोग गरेको थियो, बाढी पसेपछि पानी झन खराब भएको छ, त्यसैले त्यहाँ हैजाको संक्रमण फैलिन सक्ने जोखिम बढेको छ ।”

सुकुमवासी बस्तीभित्र टहरा र एक तले घर भएका करिब ३०० घरमा खाद्यान्न, लत्ताकपडा र सुत्ने ओछयानसमेत अभाव भएको भन्दै उनले रेडक्रसले आज चामललगायतका खाद्यान्न, गैर खाद्यान्न पानीलगायतका सामग्री राहतस्वरुप वितरण गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?