बैतडी सडकको दुर्दशा : गाडी तान्न डोजर दौडाउनुपर्ने

लोकपथ
143
Shares

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु गरिएको सडक कालोपत्रे काम अहिलेसम्म सम्पन्न गर्न चासो दिइएको छैन । समयमै सम्पन्न नहुँदा वर्षातको समयमा यात्रा गर्न असहज भएको स्थानीयको गुनासो छ ।

हिलाम्य सडकको ठाउँठाउँमा पहिरो गएको र यातायात व्यवसायीले जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको जिप चालक तिलक धामीले बताएका छन् । उनले ‘कालोपत्रे भए एक घण्टाभित्रै पुगिने स्थानमा अहिले करिब चार घण्टा लाग्ने, एक दुईपटक आवतजावत गर्दा गाडीका पाटपुर्जाहरू खराब हुने, पानी परेका बेला दर्जन बढी ठाउँमा पहिरो जाने लगायतका गुनासो सुनाए ।’ सडक गुणस्तरीय नभएकाले भाडासमेत बढी लिनुपर्ने बाध्यता रहेको धामीको भनाई छ ।

जय पृथ्वी राजमार्गको ढोल्यामोडदेखि पुर्चौडी हाटसम्म १९ किलोमिटर सडक कालोपत्रे गर्न कामको अधुरै रहेको हो । ‘तीन वर्षअघि काम सुरु गरेको ठेकेदारका मान्छे वर्षमा एक महिना मात्रै सडकमा देखिने गरेका छन् । काम भएको छैन । स्थानीय मजदुरलाई काम गराएको पैसा दिएको छैन । उक्त ठाउँमा विकास हुने भन्दै सामुदायिक वनबाट गिट्टी बालुवा निःशुल्क प्रयोग गर्न दिने निर्णयसमेत गरेर ठेकेदारलाई सहयोग गर्‍याैं । तर, ठेकेदारको अत्तोपत्तो छैन,’ ढोल्यामोडका शैलेन्द्र धानुकले भने ।

यात्रुहरूले अहिले ढोल्यामोडदेखि पुर्चौडी हाटसम्म १९ किलोमिटरको भाडा पाँच सय रुपैयाँ तिर्नु परिरहेको छ । वर्षा नभएको समयमा बस सञ्चालन हुने यस सडकमा वर्षामा ४ ह्वील ड्राइभ जिप मात्रै चलिरहेका छन् । पानी परेको दिन भने ठाउँठाउँमा पहिरो जाने भएकाले पहिरो पन्छाउन जिपसँगै डोजर दौडाउनुपर्ने अवस्था छ ।

वर्षातको समयमा पहिरो जाने ठाउँका लागि एउटा डोजर भाडामा लिएर सडकमै खडा राखेको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले बताए । उनले भने, ‘ठेकेदारको लापरबाहीले सडकको हालत बिग्रिएको हो । ठेकेदार सम्पर्कमा समेत छैनन् । किन अलपत्र छाडेको हो केही बुझ्न सकिएको छैन । अहिले गाडीको पछिपछि डोजर दौडाउनुपर्ने बाध्यता छ ।’

कालोपत्रेको काम सुरु गरेर अधुरो छाडेका ठेकेदारले केही ठाउँमा नाली निर्माण र केही ठाउँमा पर्खाल लगाएर छाडेका छन् । तर, ठाउँठाउँमा पहिरो खस्ने भएकाले पहिरोमा दैनिक गाडीहरू फस्ने गरेकाछन् । ढोल्यामोड–पुर्चौडी सडक कालोपत्रे गर्न ग्वाल्लेक निर्माण सेवाले ठेक्का पाएकोमा निर्माण व्यवसायी दानसिंह रावललाई पेटी ठेकेदार (सब कन्डक्टर)को रुपमा काम दिइएको छ । रावलले वर्षातका कारण काम अवरुद्ध भएको बताएका छन् ।

उनले ‘अहिले वर्षातमा काम अवरुद्ध बताउँदै बर्षापछि काम गर्ने बताए । मेसिनहरू सम्बन्धित् ठाउँमै छन् । आगामी असार मसान्तसम्मको म्याद छ, समयमै काम सक्छौँ’रावलले भने । सब कन्डक्टरमार्फत काम गराइरहेका ग्वाल्लेक निर्माण सेवाका सञ्चालक सुरेश चन्दले काम केही दिनमै अघि बढ्ने बताए ।

यता पूर्वाधार विकास कार्यालयले भने उक्त सडकका ठेकेदारले अन्यत्र पनि काम गरिरहेकाले काम अवरुद्ध भएको जनाएको छ । कार्यालयका प्राविधिक नरेश भुलले भने, ‘त्यही ठेकेदारले हाम्रै कार्यालयको काम मेलौलीमा पनि गरिरहेकाले उताको काम सकेपछि पुर्चौडीमा काम गर्नेछन् ।’ १७ करोडको लागतमा केही कामहरू सम्पन्न भइसकेको पनि भुलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?