खोटाङमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या दोब्बरले वृद्धि

लोकपथ
26
Shares

जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष २०७८/७९ मा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा दर्ता भएको छ । एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक सय ८४ मुद्दामध्ये एक सय ३८ मुद्दा फछ्र्योट भएको छ भने ४६ वटा मुद्दा आर्थिक वर्ष २०७९/८० का लागि जिम्मेवारी सरेको जनाइएको छ ।

गत वर्षको तुलनामा यस वर्ष सम्बन्धविच्छेद गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार रामाकान्त यादवले जानकारी दिए । “आव २०७७/७८ मा ७० मुद्दा दर्ता भएको थियो”, उनले भने, “जिल्लामा सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ ।”

जिल्लाका अधिकांश महिला आफूले भनेअनुसार खान, लाउन नपाएको तथा श्रीमान् वैदेशिक रोजगारीमा गएको समयमा सासू–ससुराले हेरविचार नगरेको भन्दै सम्बन्धविच्छेद गर्न अदालत पुग्ने गरेको पाइएको छ ।

मादक पदार्थ सेवन तथा झैझगडाका कारण पनि सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि भएको पाइएको श्रेस्तेदार यादवले बताए ।

यसैबीच जिल्ला अदालत खोटाङमा गत आव २०७८/७९ मा विभिन्न शीर्षकमा तीन सय १९ मुद्दा दर्ता भएको छ । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको एक सय २९ गरी चार सय ४८ मुद्दा हेरिएकामा दुई सय ६९ मुद्दा फछ्र्योट भएको छ भने एक सय ७९ मुद्दा आव २०७९÷८० का लागि जिम्मेवारी सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?