भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली सच्याउन सकिने

लोकपथ
156
Shares

काठमाडौं । निर्वाचन आयोगले भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली सच्याउन समय दिने भएको छ ।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन घोषणा भए पश्चात निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयहरुबाट हुँदै आएको मतदाता नामावली संकलन कार्य स्थगन भएको छ ।

अब अद्यावधिक कार्यक्रम अनुसार मिति भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोध समेतको कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुने बताइएको छ ।

उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयहरु कार्यक्रममा समावेश गरिएको छ ।

नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनबाट समेत निवेदन दिने व्यवस्था आयोगले मिलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल द्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

कार्यक्रम सम्पन्न भए पश्चात प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?