बञ्चरे डाँडामा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी साधनमाथि तोडफोड

लोकपथ
858
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको बञ्चरेडाँडामा राखेका सवारीसाधनमाथि गएराति तोडफोड भएको छ । ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौं महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौंबाट फोहोर बोकेर गएका सवारीसाधनहरुमा आलेटार नजिक तोडफोड भएको हो ।

महानगरिय वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार ‘गएराति ९ बजे घटना घटेको हुनसक्ने अनुमान गरिएको छ । हाल जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङलाई क्षतिको विवरण पठाउन पत्राचार गरेको र त्यहाँबाट पत्र आएपछि क्षतिको वास्तविकता एकिन हुने उनको भनाई छ ।’ राईले दिएको पछिल्लो सूचनाका आधारमा ‘स्थानीय प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।’

तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका छन् । यस्तै, रोकेर राखिएका गाडीहरुको शिशा फुटाईएको छ ।

घटनाका बारेमा महानगरका प्रमुखको सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्सालले ‘महानगरमा बालेन्द्र शाह (बालेन) ले प्रमुखका रुपमा निर्वाचित भएर आएदेखि नै अवरोध हुँदै आएको आरोप लगाएका छन् । स्थानीय सबैको नभएर केही व्यक्तीहरुका मागहरु फरक भएको र त्यसलाई पूरा गर्न फोहोर व्यवस्थापमा अवरोध गर्नुलाई हतियार बनाइएको उनको भनाई छ । हिजोको तोडफोड यसैको श्रृङखला भएको लम्सालको भने ।’

समय क्रममा सबै कुरा बाहिर आउने बताउँदै उनले आन्दोलनरत पक्षले आफ्नो व्यवसायबाट ढुङ्गा खरिद गराउन चाहेको र मल कारखाना त्यही क्षेत्रमा बनाउन चाहेको बताए । वासिङ् सेन्टर आफू अनुकुल सञ्चालन गराउन चाहेको बताउँदै लम्सालले भने ‘हाम्रो प्राथमिकता भनेको लिचेड व्यवस्थापन हो । दुर्गन्ध हटाउनु हो । झिँगालगायत कीराहरुको फैलावट रोक्नु हो । हामी प्रणालीमा काम गर्न चाहन्छौँ । प्रभावित क्षेत्रको वातावरण र जनस्वास्थ्यप्रति जिम्मेवार भएर काम गर्न चाहन्छौँ । यो कुरा व्यक्तिगत लाभका लागि सोच्नेहरुका लागि पचेको छैन ।’

तोडफोड गरिएका सवारी तथा उपकरण काम नलाग्ने भएपछि आज फोहोर व्यवस्थापनका काम हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?