मर्स्याङ्दी गाउँपालिकाले योजनाको काम २०८० वैशाख मसान्तभित्र सक्ने

लोकपथ
104
Shares

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्र सञ्चालित सबैखाले विकासे योजनाको काम वैशाख मसान्तभित्रै सकाउने गरी काम अघि बढाएको छ ।

गाउँपालिकाबाट सञ्चालन हुने योजना २०८० वैशाख मसान्तभित्रै सकाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार योजना सम्झौता तथा कार्यान्वयनलाई थप चुस्त दुरुस्त र प्रभावकारी बनाउन उक्त निर्णय गरिएको हो ।

गाउँपालिकाले बनाएको योजना कार्यान्वयन कार्यतालिकाअनुसार योजनाको भुक्तानी भने २०८० जेठ मसान्तसम्म सकाउने बताए ।

बर्खाको समयमा हुने योजनाका काम गुणस्तरीय र दिगो नहुने भन्दै वर्षातको समय अगावै योजना सक्ने निर्णय गरेको जनाएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालका अनुसार बैशाख महिना भित्रै सबैखाले योजनाका निर्माण तथा मर्मतकार्य सम्पन्न गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको गाउँपालिकास्तरीय अनुगमन समितिको संयोजकमा उपाध्यक्ष जुनामाया थापा रहेकी छन् ।

सदस्यहरूमा प्रशासन शाखा प्रमुख, प्राविधि शाखाका प्रमुख, सम्बन्धित शाखा प्रमुख र सदस्य सचिवमा योजना शाखा प्रमुख छन् । वडास्तरीय अनुगमन समितिको संयोजकमा वडाध्यक्षहरु छन् ।

सदस्यहरूमा सम्बन्धित भूगोलको वडा सदस्य, वडा प्राविधिक, सम्बन्धित विषयको वडाको कर्मचारी, (कृषि, पशु, स्वास्थ्य, शिक्षा) र सदस्य सचिवमा वडा सचिव छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?