काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकका लागि जोखिमपूर्ण गन्तव्य बनेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकहरुले सावधानी नअपनाउँदा र स्थानीय प्रशासनले आवश्यक ध्यान नदिँदा जोखिमपूर्ण बनेको हो ।
यहाँ वर्षेनी ६/७ जना पर्यटकहरुको ज्यान गइरहेको स्थानीयहरुको भनाइ छ । पर्यटकहरु सचेत नभइदिँदा र स्थानीय प्रशासनसले दुर्घटनाबाट बच्नका लागि आवश्यक कदम चाल्न नसक्दा दुःखद् घटनाको समाचार धेरै बन्ने गरेको स्थानीयहरुको गुनासो छ ।
गत असार ३१ गते शुक्रवार र असार १८ गते गरी नुहाउन नदी पसेका तीन जना पर्यटकहरुको ज्यान गयो । गर्मीको समयमा मेला लाग्ने र वनभोज लगायतको गन्तव्यस्थल बन्ने गरेपनि नदीको गहिराई र जोखिमको ख्याल नगरी पौडी खेल्न पस्दा पर्यटकहरुको ज्यान जाने गरेको स्थानीयहरुको भनाइ छ ।
नुनथर मधेस प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्छ । धेरै अगाडि यस क्षेत्रमा प्रशस्त नुन पाइने र यस क्षेत्रको माटो पनि नुनिलो रहेकोले गाईवस्तुहरु यस क्षेत्रमा चर्न जाँदा वागमतीको पानी पिइसकेपछि त्यहाँको माटो चाट्ने गरेकाले यस क्षेत्रको नाम नुनथर रहन गएको किंवदन्ती पनि रहेको छ । नुनथरमा वर्षको बाह्रै महिना आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गरेको पाइन्छ । रौतहट, मकवानपुर, सर्लाही र सिन्धुली गरी ४ वटा जिल्लासँग सीमाना जोडिएको प्राकृतिक छटाले भरिपूणर् यस क्षेत्रमा नेपाल मात्र नभएर भारतका विभिन्न स्थानहरुबाट पर्यटकहरु घुम्न तथा पिकनिक खान आउने गर्छन् ।
नुनथर क्षेत्रमा साउनको महिनाभर विभिन्न नेपाल तथा भारतका विभिन्न स्थानबाट बोलबम यात्रामा आउने हिन्दु भक्तजनको घुँइचो समेत लाग्ने गर्छ ।सो स्थानमा वागमती नदी स्थिर देखिएपनि गहिरो र भुमरीयुक्त भएकाले अचानक डुब्ने गरेको स्थानिय सुरेन्द्र सापकोटाले बताए । उनले यसरी वर्षेनी सरदर ५-६ जना नुनथर घुम्न आउनेहरु वागमती नदीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुने गरेको बताए । यसरी तीर्थयात्रा र पर्यटन गर्न आएकाहरु वागमती नदीमा पौडी खेल्न, नुहाउन जाने गरेकाले नदीमा डुबेर बेपत्ता हुने जोखिम उच्च रहेको स्थानीय लक्ष्मण न्यौपानेले बताए । उनले नुनथर क्षेत्र विकास समिति मातहत रहेको सो नुनथर क्षेत्रका मानिसहरुलाई डुब्नबाट जोगाउन समितिले विशेष पहल गर्नुपर्ने बताए।
धेरै मानिसहरु डुबेर बेपत्ता तथा मृत्यु भएपछि नदी किनारको ठूलो ढुङ्गामा ‘खतरा’ लेखिएपनि पर्यटकहरुले त्यसको बेवास्ता गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । उनले सो संकेतलाई बेवास्ता गर्दै नदीमा पर्यटकहरु पौडी खेल्न जाने गरेकाले धेरै दुर्घटना निम्तिएको बताए । उनले स्थानीय प्रशासनले पनि बारम्बार वागमती नदीमा पौडी नखेल्न अनुरोध गरेपनि त्यसलाई तीर्थयात्री र पर्यटकहरुले नै बेवास्ता गर्ने गरेको देखिएको बताए।
पर्यटक रमाइलोको लागि नुनथर घुम्न आउँछन् । तर पौडी खेल्ने क्रममा वागमती नदीमा हुने दुःखद् घटनाले सबैको मन खल्लो बनाइदिने गरेको छ । नदीमा पौडी खेल्न जानुअघि पर्यटकहरु पनि सचेत हुनुपर्ने स्थानीय प्रशासनको भनाइ छ । यसरी वर्षेनी वागमती नदीमा डुबेर मानिसहरुको मृत्यु हुने क्रमलाई रोक्न नुनथर विकास समिति, चन्द्रपुर नगरपालिका र स्थनीय प्रशासनले विशेष कदम चाल्न अत्यावश्यक भएको स्थानीयहरुको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया