एआईजी पोखरेलको राजीनामा स्वीकृत नहुँदै अनिवार्य अवकाश

लोकपथ
224
Shares

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । एआईजीको ५६ वर्षे उमेर हदका कारण पोखरेलले अनिवार्य अवकाश पाएका हुन् । यसअघि सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत गएका थिए ।

सरकारले सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेलगत्तै पोखरेल बिदा बसेका थिए । गत १८ वैशाखमा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

तर, उक्त रिटमाथिको सुनुवाई गर्दै सर्वोच्चका अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले गत बैशाख ३१ गते पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको थियो । सर्वोच्चको फैसलासँगै एआईजी पोखरेल धर्मसंकटमा परेका थिए । त्यसपछि गत वैशाखदेखि उनी कार्यालयमा हाजिर भएका थिएनन् । राजीनामा दिने कि आईजीपी सिंहसँग मिलेर काम गर्नेबाहेक उनीसँग अर्को विकल्प नभएपछि उनी बिदामा बसेका थिए ।

सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि उनले २ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए । उनको राजीनामा स्वीकृत भएको थिएन । कनिष्ठलाई आईजीपी बनाएको भन्दै उनले तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई एक महिना बिदा मागेका थिए ।

उनले स्वीकृत गरेको बिदा सकिएपछि पोखरेलले पुनः १० दिन बिदा मागेका थिए । तर प्रहरी महानिरीक्षक सिंहले स्वीकृत गरिदिएनन् । अदालतबाट पनि आफ्नो पक्षमा आदेश नआएपछि उनले राजीनामा बुझाएका थिए ।

सिंह आईजीपीमा नियुक्त भएपछि पोखरेलसँगै अर्का एआईजी सहकुलबहादुर थापाले पनि १० दिन बिदा लिएका थिए । तर गृहमन्त्री बालकृष्ण खाणले छलफल गरेर उनलाई काममा फर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?