काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा ५८औँ शिशु प्रदर्शनी आयोजना गरिएको छ । विगतका २ वर्षमा कोभिड-१९ को महामारीका कारण रोकिएको शिशु प्रदर्शनीलाई अस्पतालले यसपालीबाट निरन्तरता दिएको हो ।

प्रदर्शनीमा जन्मिएदेखि ४५ दिनसम्म, ४५ देखि ६ महिनासम्म र ६ महिनादेखि एक वर्षसम्मका शिशुहरुलाई प्रदर्शनीमा सहभागि गराइएको अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठ बताउँछन् । ती शिशुहरुको स्वास्थ्य अवस्था कस्तो छ ? उनीहरुको वृद्धिविकास क्रमिक रुपमा भएको छ कि छैन ? उनीहरुलाई समयअनुसार लगाउनुपर्ने खोप लगाइएको छ कि छैन ? आमालाई प्रसूतिसम्बन्धि कत्तिको ज्ञान छ ? नियमित गर्भावस्थामा नियमित चेकजाँच गरिएको थियो कि थिएन ? लगायतका विषयमा प्रसूति जाँच गरिएको छ । यसैको आधारमा शिशुहरुलाई नम्बर प्रदान गरी प्रथम, द्धितिय, तृतिय र सान्त्वना घोषणा गरिने डा. श्रेष्ठ बताउँछन् ।

प्रदर्शनीमा आमा र शिशू दुवैको जाँच गरिएको छ । जसमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ र बाल रोग विशेषज्ञको टोली खटिएका छन् । प्रदर्शनीमा आमाहरुको स्वास्थ्य जाँच गरिएकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मीना झा पूणर् स्वस्थ आमा मुस्किलले भेटिएको बताउँछिन् । ‘हामीले जुन मापदण्ड बनाएर जाँच गरिरहेका छौँ, त्यस अनुसारको पाउन सकिरहेका छैनौँ,’ उनले भनिन्, ‘गर्भावस्थामा कुनै जटिल समस्या नभएको, गर्भावस्थाको उमेर, पूर्ण पौष्टिक आहार खाइरहेको, गर्भारणको जन्मान्तरको बारेमा थाहा भएको अर्थात प्रसूतिसम्बन्धि ज्ञान भएको, पूर्ण स्तनपान गराएको, परिवार नियोजनको साधन प्रयोग, बच्चाको स्याहार गर्ने तरिका थाहा भएको लगायतका थुप्रै मापदण्ड पुरा गरेको आमालाई पूर्ण स्वस्थ आमा भन्छौँ ।’
त्यस्तै, बाल रोग विशेषज्ञ डा. शैलेन्द्रबिर कर्माचार्य शिशूको अवस्था, तौल, खानपानलगायतका कुराहरुको जानकारीका आधारमा स्वस्थ शिशु घोषणा गरिने बताउँछन् । ‘हामीले बच्चा पेटमा आउदेखि अहिलेसम्मको अवस्थालाई जाँच गर्छौँ, जसबाट धेरै अंक ल्याउने शिशू नै उत्कृष्ट हुन्छन् ।’

जसका लागि बच्चा जन्मिँदा आमाको उमेर, बच्चाको जन्मिँदाको तौल, नियमित गर्भजाँच भयो कि भएन, बच्चा समय पुगेर जन्मियो कि अगाबै, जन्मिएपछि कुनै समस्या आयो कि आएन, बच्चाले आमाको दुध राम्रोसँग खाएको छ कि छैन, खोप लगाइएको छ कि छैन, उमेर अनुसारको तौल र उचाई पुगेको छ कि छैन सबै कुराको जाँच गरिने उनले बताए । ‘यी सबै मापदण्ड पुरा गरेका बच्चालाई पूर्ण स्वस्थ मानिन्छ,’ डा. कर्माचार्यले प्रष्ट पारे ।

प्रदर्शनीमा जन्मिएदेखि ४५ दिनसम्म १७ शिशु, ४५ दिनदेखि ६ महिनासम्म २३ शिशू र ६ महिनादेखि १ वर्षसम्म २५ जना शिशूले सहभागिता जनाएको अस्पतालले जनाएको छ । तिनै शिशुमध्ये उत्कृष्ट ४ जना शिशुलाई भाद्र ३ गते अस्पतालको वार्षिकोत्सवको अवसरमा पुरस्कृत गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया