काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार दुई वटा छुट्टाछुट्टै बैंकिङ कसुर सम्बन्धि मुद्दामा दुई जना व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा खोटाङको दिक्तेल रुपाकोट घर भई हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने ३५ बर्षिय माया बस्नेत थापा र काभ्रेको रोशी गाउँपालिका घर भई हाल भक्तपुरको ठिमी नगरपालिका ३ गठाघर बस्ने ४२ वर्षीय गोर्खामान तामाङलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका मध्ये तामाङलाई सोमबार भक्तपुरको गठाघरबाट र थापालाई सोमबार ललितपुरको बंगलामुखीबाट पक्राउ गरिएको उक्त कार्यालयले जानकारी दिएको छ ।
उक्त कार्यालयका अनुसार वादी नेपाल सरकार र प्रतिवादी थापा भएको बिगो ९० लाख रुपैयाँ भएको बैंकिङ कसुर सम्वन्धी मुद्धामा थापा उपर उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । सो पश्चात फरार रहेकी थापालाई ललितपुरको बंगलामुखीबाट पक्राउ गरी मंगलबार आवस्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी बृत बालाजु पठाइएको छ ।
प्रहरीका अनुसार प्रतिवादी थापाले भरतमणी घर्ती मगर समेतका व्यक्तिहरुलाई समेत बैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको बिषयमा बैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पुर्जी समेत जारी भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका मध्ये तामाङ उपर पनि उच्च अदालत पाटनले छ लाख रुपैयाँ जरिवाना, तीन दिन कैद र २४ हजार रुपैयाँ क्षतिपुर्ती शुल्क भराउने गरी फैसला भएको थियो । सो पश्चात फरार भएका तामाङलाई भक्तपुरको गठाघरबाट पक्राउ गरी फैसला कार्यान्वनको लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया