बैंकहरुले मनपरी सी-आस्बाको शुल्क उठाउँदै, दोहोरो चपेटामा लगानीकर्ता

काठमाडौं । केही वर्षयता आमसर्वसाधारणमा सेयर बजारप्रतिको आकर्षण बढ्दो छ । सामान्य नागरिकदेखि नयाँ व्यापारिक घरानाहरुको ध्यान सेयर बजारले तान्न थालेको छ । मानौं, सेयर बजार एउटा ठूलै व्यवसायको रुपमा स्थापित भइसकेको छ ।

यसैको मौका छोपी बैंकहरु पनि कमाउने धन्दातर्फ आकर्षित हुन थालेका छन् । केही समय अघिसम्म सी-आस्बामार्फत साधारण सेयर(आईपीओ) भर्दा सेवा निःशूल्क दिएका बैंकहरुले पछिल्लो समय धमाधम शूल्क निर्धारणको सूचना सार्वजनिक गर्न थालेका छन् ।

यसरी बैंकहरुले मनपरी ढंगबाट सी-आस्बाको सेवा शुल्क लिँदा यसले सेयर बजारका साना लगानीकर्तालाई सोझै असर गरेको स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्की बताउँछन् ।

पहिला लोभ्याए, अब लुट्न सुरु

सुरु-सुरुमा सी-आस्बा प्रणाली नेपालमा भित्रिँदा अधिकांश बैंकहरुले ग्राहकहरुलाई आकर्षित गर्न निःशुल्क सी-आस्वा सेवा प्रदान गरे । जब सेयर बजारमा नयाँ लगानीकर्ताको बाढी नै लाग्न थालेपछि बैंकहरुले सी-आस्बाको शूल्क निर्धारण गर्न थालेका हुन् ।

यसैमध्येको एक हो, स्ट्याण्डर्ड चार्टर्ड बैंक । जसले एकपटक सेयर आवेदन दिँदा ग्राहकसँग एक सय रुपैयाँ शुल्क लिने गरेको छ । यस्तै, मेगा बैंक, लक्ष्मी, सनराइज, सेन्चुरी, नेपाल एसबीआई बैंकले २५/२५ रुपैयाँ सेवा शूल्क लिने गरेका छन् ।

त्यस्तै, सिभिल, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, कुमारी, हिमालयन, सिटिजन, एएमबी बैंकले ग्राहकमार्फत २० रुपैयाँ सेवा शुल्क लिँदै आएका छन् ।

यसैगरी, ग्लोबल आएमईले १५ रुपैयाँ लिने गरेको छ । नेपाल बैंक, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाडौं, एनसीसी, माच्छापुच्छ्रे, सिद्धार्थ, कृषि विकास, प्रभु, प्राइम कमर्सिअल बैंकले १० रुपैयाँ सी-आस्बा शुल्क लिँदै आएका छन् ।

यही भीडमा केही बैंकले भने निःशूल्क सुविधा दिएका छन् । एनआईसी एसिया, राष्ट्रिय वाणिज्य र नविल बैंकले सी-आस्बाको शुल्क लिँदैनन् ।


के छ नीतिमा ?

सी-आस्वा सम्बन्धि नीतिमा धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ को परिच्छेद ४ अन्तर्गतको १६ नम्बर बुँदामा बैंक तथा वित्तीय संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धि सुविधा उपलब्ध गराए वापत ५० हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा एक सय रुपैयाँ र सोभन्दा बढी रकमको दरखास्तमा बढीमा २५० रुपैयाँ सेवा लिन पाउने व्यवस्था छ ।

जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले ५० हजार रुपैयाँसम्मको दरखास्तमा १०० रुपैयाँसम्म आस्वा शुल्क लिन पाउनेछन् ।

दोहोरो चपेटामा लगानीकर्ता

यता बैंकहरुले सी-आस्बा बापतको शूल्क लिइरहेको छ भने अर्कोतिर सेयर ‘नट एलोटेड’ हुने सम्भावना पनि उत्तिनै बढी छ । त्यसैले साना लगानीकर्ताहरु दोहोरो मारमा परिरहेका छन् । आइपीओ परे पनि नपरे पनि शूल्क लाग्ने र यदि सी-आस्बा बापत तिर्ने शुल्क खातामा नभएको अवस्थामा आवेदन नै रद्द हुने अवस्था समेत छ ।

विगत २ वर्षदेखि साधारण सेयरमा लगानी गर्दै आएका राजन श्रेष्ठ खुलेको आईपीओ नपर्ने तर आईपीओ भरेपिच्छे बैंकले शुल्क लिँदा हैरानी खेप्नुपरेको बताउँछन् । ‘निशुल्क सेवा दिन्छौ भनेर बैंक खाता सञ्चालन गरेका बैंकहरुले अहिले आईपीओ भरे पिच्छे शुल्क लिन्छन्,’ उनको गुनासो छ, ‘सी-आस्वा शुल्कमा बैंकहरुबीच मनोमानी रुपमा होडबाजी चलेको देख्दा हामी साना लगानीकर्ता माथि शोषण भइरहेको छ जस्तो लाग्छ ।’ आईपीओ परेको खण्डमा मात्र बैंकहरुले शुल्क लिने व्यवस्था गर्नुपर्ने हुनुपर्ने उनको माग छ । साथै, श्रेष्ठको अर्को सुझाव पनि छ । ‘बरु बैंकहरुले सी-आस्बा बापत लाग्ने एउटा निश्चित शुल्क तोके राम्रो हुन्थ्यो,’ उनले भने ।

बैंकहरुले सी-आस्वा सेवा निशुल्क दिनुपर्ने संघका अध्यक्ष तथा लगानीकर्ता रोहन कार्कीको मत छ । ‘लगानीकर्ताहरुले आईपीओ भर्नाकै लागि भए पनि बैंकमा रकम जम्मा गर्ने गर्छन् जसले बैंकहरुलाई तरलतामा सहज हुन्छ,’ उनी भन्छन्, ‘बैंकहरुले सी-आस्वा सेवा निःशुल्क उपलब्ध गराउन सकेका त्यस्ता बैंकहरुमा लगानीकर्ता अझ बढी रकम जम्मा गर्न सक्ने सम्भावना पनि बढ्ने छ ।’

सी-आस्बा प्रणालीलाई निःशुल्क गर्दा समग्र बैंकिङ क्षेत्रलाई नै फाइदा पुग्ने कार्कीको भनाइ छ । सी-आस्वा निशुल्क गर्ने सम्बन्धमा नियामक निकायहरुसँग छलफल चलिरहेको नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । ‘आईपीओमा सर्वसाधारणको पहुँच हुने हुँदा सी-आस्बा सेवालाई सकेसम्म निःशुल्क बनाउनुपर्ने र शुल्क लिएकै खण्डमा पनि एकदम न्यूनतम लिनुपर्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?