काठमाडौं । काठमाडौं, चितवन र जुम्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनाबाट तीन जनाको मृत्यु भएकोे छ । ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित सडकमा नम्बर नखुलेको बोलेरोले बा.९७ प ३१४३ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं दक्षिणकाली नगरपालिका–८ बस्ने ३१ वर्षीय आषिश लामाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै, चितवनको भरतपुर महानगरपालिका–१६ लप्टन डाँडास्थित सडकमा बा.प्र.०३–००४ प ३१६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय अनिल महत्तोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको भरतपुर नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ भुलभुलेमा लु.१ ज ३७५४ नम्बरको जिप सडकमा पल्टिएर आइतबार बिहान दुर्घटना हुँदा जिपमा सवार मुगु रारा छाँयानाथ नगरपालिका–२ बस्ने २४ वर्षीय दिपक तिरूवाको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका जिपका चालकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र जिपमा सवार अन्य २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया