निर्मला हत्याबारे जथाभावी बोल्ने प्रम ओली र प्रचण्डले माफी माग्नुपर्छ : कांग्रेस सदस्य लेखक

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । 

उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डले निर्मला हत्या प्रकरणमा दिएको अभिव्यक्तिका कारण माफी माग्नुपर्ने बताएका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लखेकले भनेका छन्, निर्मला पन्त बहिनीको बलात्कार र हत्या प्रंसगमा झुठ्ठा बोल्ने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने षड्यन्त्र हो कि भन्ने पूर्व प्रधानन्त्री माननीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमा माफी माग्नु पर्छ ।’

गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले हेल्लो प्रधानमन्त्री कार्यक्रममा पीडित परिवार र कञ्चनपुरका स्थानीय आशंका गरेका बम दिदीबहिनीप्रति सहानुभूति देखाउँदै उनले नेपाली समाजलाई अधोगतिमा लाग्ने प्रयास स्वरुप उक्त घटनालाई उछालिएको बताएका थिए । 

त्यस्तै, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार आयोजित एक कार्यक्रममा कञ्चनपुर घटनालाई राजनीतिकरण गर्न खोजेको भन्दै नेकपालाई नै असफल पार्न खोजिएको हो कि भनेर आशंका गरेका थिए । 

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट बिहान उखुबारीमा भेटिएको थियो । 

निर्मला हत्या र बलात्कारको घटनाको प्रहरी र छानविन समितिले अनुसन्धान भइरहेको बताएपनि ५१ दिन पुगिसक्दा पनि दोषि पहिचान हुन सकेको छैन । 

त्यस्तै यसै विषयलाई लिएर आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै छन् । 

कांग्रेसले घटनाबारे हाल भइरहेको अनुसन्धान र सत्यतथ्य जानकारी गराउन संसदमा प्रश्न  उठाउँदै पटक–पटक संसद अवरोध गर्दै आइसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?