फर्केर हेर्दा एसएलसी : १९९० देखि २०६१ सालसम्म बोर्डफस्ट हुनेहरू

लोकपथ
98.1k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज (बुधबार )सार्वजनिक गरेको छ । गत वैशाख ९ गते देखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७६० जना परीक्षार्था सहभागी भएका थिए । परीक्षाको लागि देशभर दुई हजार ७०० परीक्षा केन्द्र तोकीएको थियो ।

यस पटकको नतिजामा नौ हजार ६३३ ले उच्च जीपीए अर्थात् ३.६ देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएका छन् ।

एसईई र यसको नतिजाको बारेमा कुरा गरिरहँदा एसएलसीको पनि चर्चा स्वतः हुने गर्छ । अहिले एसएलसी इतिहास बने पनि यसको महत्व र यसप्रतिको उत्साह बेग्लै थियो ।

नौ हजार ६३३ जनाले उच्च जीपीए ल्याए भनेर आज सबै संचार माध्यमका समाचारको शिर्षक बनेका छन् । तर, ६१ साल पहिले बोर्डफस्ट भएका व्यक्तिको माला खादा लगाएको फोटो सबै पत्रिकाको फ्रण्ट पेजमा छापिन्थ्यो र शिर्षक लेखिन्थ्यो ‘…बने बोर्डफस्ट’ ।

बोर्डफस्ट हुनेहरू

सबैभन्दा धेरै बोर्डफस्ट जन्माउनेमा काठमाडौंको दरबार हाइस्कुल रहेको छ । यहाँबाट सत्र जना बार्डफस्ट भए । त्यस्तै सिद्धार्थ वनस्थली इन्स्टिच्युट काठमाडौंबाट नौ जना, जुद्धोदय पब्लिक हाइस्कुल काठमाडौंबाट छ जना, त्रिभुवन पब्लिक हाइस्कुल वीरगन्ज, आनन्दकुटी विद्यापीठ काठमाडौं र लेबोरेटोरी माध्यमिक विद्यालय काठमाडौं बाट पाँच–पाँच जना बोर्डफस्ट भए ।

बुढानीलकण्ठ माध्यमिक विद्यालय काठमाडौं र गोरखा हाइस्कुलबाट दुई–दुई जना बाोर्डफस्ट भएका छन् भने अन्य विभिन्न २२ वटा विद्यालयबाट एक– एक जना बोर्डफस्ट बन्न सफल भएका छन् ।

१९९० देखि २०६१ सालसम्म एसएलसीमा बोर्डफस्ट हुनेहरू

विसं १९९० देखि १९९५ सम्ममादरबार हाइस्कुलबाट क्रमशः पुष्पभक्त मल्ल, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, चन्द्रदेव ओझा, तीर्थप्रसाद प्रधान बोर्डफस्ट भए भने १९९७ र १९९८ मा भुवनलाल प्रधान र रेणुलाल सिंह सुवालबोर्डफस्ट भए ।

त्यस्तै २००० देखि २००४ सम्म क्रमशः ज्ञानमणि आचार्य, विष्णुप्रसाद धिताल, रञ्जनराज शर्मा उपेन्द्रमान मल्ल र भवानीशङ्कर राजवंशी, २००६ मा सैयदमोइन साह, २०१० मा पुरुषोत्तम नारायण श्रेष्ठ, २००१ मा पद्मलाल श्रेष्ठ र २०१६ मा शिवप्रसाद अधिकारी बोर्डफस्ट भएका थिए ।

तत्कालिन वनस्थली विद्याश्रम तथा हालको सिद्धार्थ वनस्थली इन्स्टिच्युट काठमाडौंबाट २००७ मा शङ्करकृष्ण मल्ल २०३४ मा सत्यनारायण राजभण्डारी र सतीश बजाज, २०४१ मा राजनलाल प्रधान, २०४६ मा नृपेन्द्र प्रधान २०४८ मा प्रवीणदेव प्रधान, २०४९ मा प्रकाश थपलिया, २०५३ मा विश्वबन्धु बगाले र २०५६ मा सुनिमा सिंह बोर्डफस्ट भएका थिए ।

जुद्धोदय पब्लिक हाइस्कुल काठमाडौंबाट २०१३ मा आनन्दमान सिंह अमात्य, २०१५ मा प्रकाशचन्द्र जोशी २०१७ मा रमेश शर्मा,२०१८ मा प्रचण्ड शाह २०१९ मा रमेशनाथ वैध, २०२१ मा भेषराज कडेल बोर्डफस्ट हुन सफल भएका थिए ।
त्रिजुद्ध पब्लिक हाइस्कुल वीरगन्जबाट २००५ मा दामोदर क्यात, २००७मा नन्दकिशोर अग्रवाल,२००८ मा बाबुलाल अग्रवाल,२००९ मा महावीरप्रसाद अग्रवाल, २०२९ मा राजेन्द्रकुमार काबराले बोर्डफस्टको ताज पहिरिए ।

आनन्दकुटी विद्यापीठ काठमाडौंबाट २०२३ मा प्रकाश माननगर, २०२५ मा भक्तबहादुर आते, २०२७ मा आता शेर्पा,२०३० मा प्रमोद आचार्य,२०४२ मा दीपककुमार सिंहबोर्डफस्ट भए ।

काठमाडौंको लेबोरेटोरी माविबाट २०३९ मा किशोर थापा, २०३४ मा विजयप्रकाश श्रेष्ठ, २०३५ मा उत्तमकृष्ण श्रेष्ठ २०३८ मा सुश्री लुना भट्ट २०३९ मा सुश्री निशा धौभडेल एसएसलसीमा बोर्डफस्ट भएका थिए ।

यस्तै बुढानीलकण्ठ बोर्डिङ काठमाडौबाट २०३६ मा द्वारिका श्रेष्ठ, २०४० मा शम्भुशरण साह र २०४७ मा मानव भट्टराई एसएलसी परीक्षामा बोर्डफस्ट भएका थिए ।

पाटन हाइस्कुल ललितपुरबाट १९९६ मा भरतबहादुर प्रधान र १९९९ मा तीर्थबहदुर प्रधान गरी दुई जना बोर्डफस्ट भए ।
पद्मोदय हाइस्कुल काठमाडौंबाट पनि २०१४ र २०२८ मा दिव्यरत्न शाक्य र द्रोणप्रकाश रसाइली बोर्डफस्ट भएका थिए ।
त्यस्तै गोरखा हाइस्कुलबाट २०३२ मा रामचन्द्र शर्मा र २०३४ मा ईश्वर प्रधान गरी दुई जना बोर्डफस्ट भए ।

२०१२ मा पब्लिक हाइस्कूल धरानबाट रामबाबु खनाल, २०२० मा शान्ति निकुञ्ज मावि काठमाडौंबाट दीपक वनार्थाय, २०२२ सालमा कमला मावि सिन्धुलीबाट महेन्द्रनाथ शर्मा र २०२४ सालमा परोपकार आर्दश हाइस्कुल काठमाडौंबाट डम्बरबहादुर नेपाली बोर्डफस्ट बन्न सफल भएका थिए ।

त्यस्तै २०२६ सालमा अमरज्योति जनता हाइस्कूल गोरखाबाट बाबुराम भट्टराई बोर्डफस्ट भएका थिए भने २०३२ मा बालकुमारी मावि चितवनबाट सुनिलरत्न कंंसाकार, २०३३ सालमा लक्ष्मीचन्द्र मुरारका व्यवसायिक मावि जनकपुरबाट बलराम पाण्डेय र पशुपति मित्र मावि काठमाडौंबाट अनिलबहादुर तुलाधरबोर्डफस्ट बन्न सफल भए ।

विसं २०३७सालमा जनकल्याण मावि तमजुङबाट अच्युत बाबु तिवारी, २०४३ सालमा रत्नराज्य लक्ष्मी मावि काठमाडौंबाट प्रमोद आचार्य, २०४४ मा गण्डकी आवासीय मावि कास्कीबाट राजेन्द्र गुरुङ र २०४५ मा भानुभक्त मेमोरियल मावि काठमाडौंबाट राजन शर्मा एसएलसीमा बोर्डफस्ट भएका हुन् ।

वि.सं २०५० सालमा ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंबाट गरिमा राणा, २०५१ मा आर्दश विद्यामन्दिर ललितपुरबाट पङ्कज अधिकारी (२०५१ सालमा एमालेको सरकार हुँदा बोर्डफस्टको प्रथा खारेजी गरेकोमा २०५२ सालमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारद्वारा बोर्डफस्टको प्रथालाई पुनः नरिन्तरता दिएको थियो )।  २०५२ मा वीरेन्द्र सैनिक आवासीय मावि भक्तपुरबाट आयाम लामिछाने, २०५४मा सिद्धार्थ इङ्गलिस मावि काभ्रेपलाञ्चोकका मदनकुमार बडाल, २०५५ मा विनायकसुधा उच्चमावि काठमाडौबाट वीरेन्द्र घिमिरे, २०५७सालमा विदुर बोडिङ स्कुल झापाबाट स्वच्छन्द सोङमेन, २०५८ मा शिक्षा शिशु निकेतन इङ्गलिस स्कुल पोखराबाट सुयोग भण्डारी, २०५९ मा न्यू होराइजन इङ्लिस स्कुल बुटवलबाट विशाल खनालले बोर्डफस्ट आफ्नो नाम गरेका थिए ।

२०६१ सालमा काभ्रे माविका समिर श्रेष्ठ बोर्डफस्ट भएसँगै सरकारले हरेक वर्ष घोषणा गर्दै आएको बोर्डफस्टको व्यवस्थालाई खारेज गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?