बलात्कारपछि हत्याको ४ वर्ष : निर्मलाकी आमा भन्छिन्- ‘गरीबको न्याय मर्‍यो, अब हार खाएँ’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज चार वर्ष पुगेको छ । हत्या भएको चार वर्ष बितिसक्दा पनि उनको बलात्कारपछि हत्या कसले गरेको हो भन्ने कुरा रहस्यकै गर्भमा रहेको छ ।

निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले अब निर्मलाको हत्यारा पत्ता लाग्छ भन्ने आशा मारिसकेकि छिन् । उनको छोरीको बलात्कारपछि हत्या भएपछि उनी नयाए माग्दै कन्चनपुरदेखी सिंहदरबारसम्म नआएकी होइनन् ।

“घटना भएको दुई महिनासम्म महेनगरमै बसेर न्याय पाइएला जस्तो लागेको थियो । त्याहाबाट सम्भव नभएपछि सरकारका ठूला मान्छेलाई भेट्न काठमाडौं पनि गएकी हुँ । भेटेकोजति सबैले निर्मलाले न्याय पाउछिन हत्यारालाई छिट्टै समात्छौं भनेका थिए तर गरीबको न्याय कता हरायो हरायो ।” लोकपथसँगको संबादमा निर्मलाकी आमाले भनिन् ।

घटना भएको ४ वर्ष पुग्दा सम्म पनि हत्यारा नजिक प्रहरी प्रशासन नपुगेपछि उनले अब आफूले हार खाएको बताइन् ।

“पहिला पहिला त देशमा न्याय छ हामीहरुजस्ता साधरण जनताले पनि न्याय पाउछौंँ जस्तो लागेर आश राखेका थियौँ तर अहिले त हार खाए ।” भक्कानिएको आवाजमा उनले भनिन् ।

“अब कसैले मेरी छोरीको हत्यारालाई पक्राउ गर्छ भन्ने आशा छैन मलाई । जति जोगी आएपनि कानै चिरेको । उनले भनिन् । पहिला पहिला आउथे सोधपुछ गर्थे प्रहरी कार्यालयमा पनि बोलाउथे केही हुन्छ कि जस्तो लाग्थ्यो तर खै ४ वर्ष भयो ।” उनले थपिन् ।

आजको दिनसम्म आइपुग्दा अब घटनाको सत्यतथ्य पत्ता लाग्छ भन्ने कसैको आश्वासनमा उनी विश्वाश गर्दिनन् । प्रहरी प्रशासन र फाेहोरी राजनीतिले उनीमा यती वितृष्णा जागेको छ जुन अब सायदै उनको छोरीको हत्याराले सजाय पाएको दिन मात्रै मेटिएला ।

“आफ्नो दुख भोग्नु नै पर्छ । दुख सुख गरेर आफ्नो दिन बिताइरहेको छु । यो साउन महिना सम्झदा पनि मन अमिलो भएर आँउछ । उसलाई सम्झन्छु । रुन मन लाग्छ । बिहान स्कुल जान्थी । तै स्कुलबाट आउने बाटो तिर हेरेर टोलाउछु । उ आमा भन्दै त्यताबाट आएपनि हुने जस्तो लाग्छ । मेरी छोरीले के बिगारेकी थिइन र उसले यो भोग्नुपर्यो ?”। भावबेहोल हुँदै उनले सुनाइन् ।

समाचारमा अन्त पनि त्यस्तै घटनाहरु घटेको सुन्दा मन चुडिने उनी बताउछिन् । छाडेर जानेहरु त जान्छन तर न्याए माग्दै खानुपर्ने हन्डर र न्याय नपाएर बस्नु पर्ने अवस्था हुँदा बाच्न पनि मन नलाग्ने उनी बताउछिन् ।

अहिले निरमालकी आमा कन्चनपुरकै एक स्वास्थ्यचौकीमा काम गरेर आफ्नो परिवारको गुजारा चलाइरहेकी छिन् । निरमलाकी एक बहिनि कक्षा १० मा अध्ययनरत छिन् । र अरकी बहिनि पनि स्कुलमा पढ्न जन्छिन् । निर्मलाका बाबु अर्की श्रीमतीसँग बस्ने गरेका छन् ।

करिब १ वर्षदेखी न उनलाई कुनै प्रहरी अधिकारीहरुले भेटेका छन् न त उनलाई प्रहरी कार्यालय नै बोलाइएको छ ।

“करिब १ वर्ष जतिभयो अनुसन्धानका लागि कोही पनि आएका छैनन् । महिलालाई हेपेको हो । प्रहरीको पनि कमजोरी देखिएको छ नत्र घटनाको सत्यतथ्य त प्रहरीले यतिका समयमा पत्ता लगाइसक्नुपर्ने हो । अपराधि खोज्न नचाहिएको हो ।म गरिब भएँ । मेरो पक्षमा ठूला मान्छे कोही भएन । धनीमानी र पहुँच भएको भए मैले उहिल्यै न्याय पाउँथे होला । तर गरिब भएका कारण अहिलेसम्म न्याय पाउन सकेको छैन । तर पनि प्रहरीले सत्य पत्ता लगाउनुपथ्र्यो, त्यो भएन । सुरुदेखि नै लापरबाही भयो ।” उनले भनिन् ।

***
घटना भएको दिन : 

४ वर्षअघि साउन १० गते साथीको घरमा स्कुलको गृहकार्य गर्न गएकी १३ वर्षीय बालिका पन्त अबेर साँझसम्म पनि घर नफर्किएपछि उनको खोजी सुरु गरिएको थियो । साउन ११ गते नजिकैको उखुबारीमा निर्मलाको शव भेटिएको थियो ।

निर्मला हत्या प्रकरणका नयाँ नयाँ मोड :

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा धेरै छानबिन समिति बनाएर अनुसन्धान नभएका होइनन् । तर छानबिन समितिले पनि यस घटनाबारे पत्ता लगाउन नसक्दा घटना रहस्यकै गर्भमा रहेको छ ।

निर्मलाको वास्तविक हत्यारा को हुन्, निर्मलाको बलात्कारपछि हत्या ४ वर्ष बितिसक्दा पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न किन सकेको छैन, के प्रहरीले अपराधीलाई लुकाउन खोजेको हो, सरकारको भूमिका किन सशक्त छैन, महिलाको सुरक्षा खोई, के नेपाल पनि महिलाको लागि खतराको देश बन्दै छ, लगायतका प्रश्नहरू आम नागरिकको चासोको विषय बनेका छन् ।

निर्मलाको घटनापछि मुलुकभर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आन्दोलन नभएका पक्कै होइनन् । निर्मलाको मुद्दा अन्तर्राष्ट्रियस्तरमा समेत चर्चाको विषय बने पनि ४ वर्ष बित्दासम्म दोषी पक्राउ परेको छैनन् र पछिल्लो समय प्रहरी अनुसन्धान सुस्ताएको देखिन्छ ।

सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन गरेर पनि घटनाको सूक्ष्म अनुसन्धान गरेको थियो ।

***

विभिन्न समितिका प्रतिवेदनले घटनाबारे थप आशंका व्यक्त गर्नुका साथै प्रमाण मेटिएकाले हत्यारा पत्ता लगाउन कठिन हुनेसमेत बताए । तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको टोलीले कञ्चनपुर पुगेर घटनाबारे अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालयको घटनाप्रतिको लापरवाही र प्रमाण संकलनमा चुकेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित सात जनालाई निलम्बन गरिएको थियो ।

घटना भएको एक महिनापछि वि सं २०७५ भदौ ४ मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–१९ बागफाँटाका दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै आन्दोलनले उग्ररूप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।

***

निर्मला प्रकरणको आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय शनी खुनाको निधन भएको थियो भने अझै केही युवक शारीरिक रूपले नै अशक्तता भएर उपचाररत छन् । भदौ ८ गते सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन ।

घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्याम सिंह चोदरीलाई घटनाको पछिल्लो विवरण बारे पत्ता लगाउन गरिएको टेलिफोन संवादमा उनले निर्मला पन्तको नाम सुन्नासाथ आफू मिटिङमा भएको बताएर फोन राखेका थिए । पछि पुन: टेलिफोन गर्दा उनले फोन रिसिभ गरेनन् ।

पन्तको न्यायको लागि सामाजिक अभियन्ता, महिला अधिकारकर्मी, राजनीतिकर्मी, नागरिक समाज सबैले सामाजिक सञ्जालमार्फत् न्यायको हारगुहार गरिरहेका छन् । घटनाको ४ वर्ष पुगेको भन्दै केही सांसदहरुले प्रतिनिधिसभामा घटनाको सत्यतथ्य बाहिर निकाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?