प्राथमिक उपचार दिवस २०७५: प्राथमिक उपचारले ज्यानै जाने जोखिम न्यून गर्छ

काठमाडौं । आज  प्राथमिक उपचार दिवस ।

सन् २००० बाट अर्थात् सहश्राब्दिबाट यो दिवस मनाउन शुरु गरिएको हो ।  यस वर्षको नारा “सडक दुर्घटनामा प्राथमिक उपचार” तय गरिएको छ । 

प्राथमिक उपचार भन्नाले कुनै पनि चोटपटक लाग्दा वा कुनै कारणबाट शरीरले अस्वस्थ महशुस गर्दा गरिने पहिलो घरेलु वा चिकित्सकीय उपचार पद्धति हो । कुनै दुर्घटना भएपछि घाइतेहरुलाई उपचारका लागि अस्पताल लैजानु अघि आफूसँग भएको सामाग्रीहरु प्रयोग गरेर गरिने सामान्य उपचारलाई प्राथमिक उपचार मानिन्छ ।

दुर्घटनाहरु जहाँ पनि, जहिले पनि अनि जसलाई पनि हुन सक्छन् । प्राथमिक उपचारको ज्ञान भएमा घाइतेहरुलाई जोखिमबाट कम गर्न सकिन्छ, दुर्घटनालाई बिछोडमा रुपान्तरण हुन नदिएर ज्यान जोगाउन सकिन्छ ।

कसैलाई कारणबस ज्वरो आउँदा, उसलाई तत्काल सिटामोल आदि औषधी खुवाउने, पानीपट्टी लगाउने काम गरिन्छ । त्यसरी नै कोही मानिस नदीमा डुब्यो, पानी खाएर पेट फूलेको भेटियो भने उसलाई घोप्टो पारेर पेटमा थिचिदिँदा पेटमा भएको पानी मुखबाट निस्कन्छ । यी प्राथमिक उपचार हुन् ।  

प्राथमिक उपचारलाई आधारभूत उपचार मान्न सकिन्छ । विश्वको हरेक देशमा घरघरमै उपचार केन्द्र रहेको हुन्छ । सम्पन्न मुलुकहरूमा सबै नागरिकका घरमा प्राथमिक उपचारका सामग्री तथा एकजना सदस्यलाई प्राथमिक उपचारको सिप पनि सिकाइने गरिन्छ । प्राथमिक उपचारको सामाग्रीहरु र निश्चित औषधिहरूको एउटा किट बक्स सरकारले नै उपलब्ध गराएको हुन्छ । जनताको उपचार गर्न पाउने अधिकार त्यहाँ सुरक्षित हुन्छ । यो जनताले सरकारलाई तिरेको कर वापत राज्यले दिने सुविधा हो । 

तर नेपालमा यस्तो कुनै व्यवस्था गरिएको छैन । पैसा भएर पनि उपचारबाट वञ्चित भएका उदाहरणहरु प्रशस्तै छन् । कतिपय बिरामीलाई उपचार तथा औषधिमा छुट दिने भनिए पनि केही पहुँचवाला भीभीआइपीले मात्र पाएका छन् ।  

अझ नेपाल जस्तो विकासोन्मुख देशमा जहाँ स्वस्थ उपचारहरुको उपलब्धता समान, सरल र सहज छैन, त्यहाँ प्राथमिक उपचारको महत्त्व अझै धेरै हुन्छ । दुर्घटना प्राय अप्रत्यासित र आकस्मिक हुन्छ । त्यसैले प्राथमिक उपचारले यस्ता घटनाका कारण उत्पन्न हुने ज्यानै जाने जोखिम न्यून गर्न सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?