काभ्रेमा कोरोना संक्रमण बढ्दो, छैन स्वास्थ्य सावधानी

लोकपथ
56
Shares

काभ्रे । काभ्रेमा दैनिक कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ । शनिबार १०३ जनामा गरिएको परीक्षणमा २० मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच संक्रमित फेला परेका थिए । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना संक्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा संक्रमण देखिएको छ ।

यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा आठ संक्रमित निको भएको जनाइएको छ । पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाको एक–एक संक्रमित आइसोलेशनमा उपचाररत रहेको कार्यालय प्रमुख डा. पुरुषोत्तम सेढाइँले जानकारी दिए । उनका अनुसार पछिल्लो दिनमा संक्रमण दर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिनेछ ।

यस्तै नमोबुद्ध नगरमा छ, बनेपा नगरमा चार र महाभारत गाउँपालिकामा एक संक्रमित रहेका छन् । हाल जिल्लामा कूल ४२ मा संक्रमण रहेको हो । करिब दुई वर्ष पाँच महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ मा संक्रमण देखिएको छ । यसमध्ये १९५ संक्रमितको मृत्यु भएको छ । संक्रमण बढ्दो भएपनि स्वास्थ्य सावधानीमा भने नागरिकको हेलचेक्रयाइँ बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?