दिवा खाजाले विद्यार्थी बढे

लोकपथ
91
Shares

बाँके । कुनै बेला विद्यालयमा न्यून विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउँपालिकास्थित विद्यालयका कक्षा कोठा आजभोलि विद्यार्थीले भरिन थालेका छन् ।

गाउँपालिकाका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्र्थी सङ्ख्या बढेको हो ।

नरैनापुर–६ जमुनीकी हंसकुमारी धोबी आजभोलि हरेक दिन विद्यालय जान्छिन् । विद्यालयमा दिन बिराएर फरक–फरक स्वादको दिवा खाजा खान पाउने भएपछि कक्षा ५ मा अध्ययनरत उनी विद्यालय नियमित आउन र पढ्न मन लाग्न थालेको बताउँछिन् ।

नरैनापुर–६ जमुनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनीमा अध्ययन गर्ने उनी मात्रै नभएर पछिल्लो समय दिवा खाजाकै कारण धेरै विद्यार्थी विद्यालय आउन थालेका छन् ।

सङ्गीता यादव पनि आजकाल नियमित विद्यालय आउँछिन् । उनी मात्र नभएर उनको कक्षाका सबै सहपाठी नियमित विद्यालय आउँछन् । “पढ्न पाइने नियमित खाजा पनि फरक–फरक स्वादको पाइने भएपछि नियमित आउन थालेका छौँ”, लजाउँदै उनले भनिन् । विद्यालयमा हरेक दिन फरक–फरक परिकारको पौष्टिकले भरिपूर्ण खाजा पाक्ने गरेको छ । हजुवा, मीठो दलिया, खिचडीलगायतका खानेकुरा विद्यार्थीका लागि पाक्ने गरेको हो ।

सङ्घीय सरकारको सशर्त अनुदानमा सञ्चालनमा रहेको बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई आकर्षित गरेको गाउँपालिकाका शिक्षा शाखाप्रमुख तथा शिक्षा अधिकृत कृष्णकुमार थारूले बताए ।

उनले नरैनापुरमा बाहिर रहेका विद्यालय जाने उमेरका करिब २५ प्रतिशत विद्यार्थी मध्ये दिवा खाजा सञ्चालनपछि २० प्रतिशत भर्ना भई नियमित विद्यालय आउने गरेको दाबी गरे । नरैनापुर–६ जमुनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनीका प्रधानाध्यापक अमरलाल यादवले दिवा खाजा कार्यक्रमबाट विद्यार्थी बढेको बताए ।

नरैनापुर–४ मा रहेको मदरसा अरविया गुल्सने वारिस उन्मतुलुममा पनि अचेल विद्यार्थी बढ्दै गएका छन् । कक्षा ३ सम्म सञ्चालित सो मदरसामा ३०७ बालबालिका अध्ययनरत छन् । न्यून विद्यार्थी रहेको मदरसामा सो कार्यक्रमले सकारात्मक प्रभाव पारेको प्रधानाध्यापक अब्दुल रहमान खाँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?