काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा रहेकाे सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन भएकाे छ ।
भारतीय राजदूतावासका सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले भारत सरकारको अनुदान सहयोगमा बनेकाे उक्त सामुदायिक टेक्निकल इन्स्टिच्यूटकाे नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ४१ लाख रुपैयाँको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा उक्त भवनको निर्माण भएको र यस परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत रहेकाे भारतीय दूतावासले जनाएकाे छ ।
सन् २०१४ मा स्थापना भएकाे सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटले जिल्ला समन्वय समिति तथा कमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल इन्जिनियरिङ र कृषि (पशु विज्ञान) शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको छ । इन्स्टिच्यूटमा हाल २९२ भन्दाबढी विद्यार्थी अध्ययनरत छन् ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये सिन्धुली जिल्लाका ४ गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया