श्रमदानबाटै पूरा भयो सिँचाइको सपना

लोकपथ
49
Shares

काठमाडौं । कृषिमा आकाशे पानीको भर पर्दै आएका बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीवासीको सिँचाइको सपना श्रमदानबाटै पूरा गरिएको छ।

वडाध्यक्ष दिनेशकुमार थारुको नेतृत्वमा पेडारीवासीले दुई दिनसम्म कुलो खन्नका लागि श्रमदान गरेपछि सिक्टा सिँचाइको पानी पेडारीगाउँमा पुगेको हो।

दुई दिन लगाएर करिब पाँच सय मिटर कुलो खनेपछि गाउँमा पानी ल्याउन सफल भएको उनले बताए।

‘सिक्टा सिँचाइको नहरबाट गाउँसम्म पानी आउने कुलो बनेको थिएन, आकाशे पानी पर्खँदा धानखेती सुक्न थालेपछि कुलो खन्न जुटेका हौँ’,वडाध्यक्ष थारुले भने, ‘कुलो खन्ने बजेट नभएका कारण श्रमदानबाटै कुलो खन्नका लागि अगुवाइ गरेँ र पेडारीवासीले साथ पनि दिए।’

वर्षा नभएका कारण गाउँमा रोपाइँ हुनसकेको छैन भने भएको रोपाइँ पनि सुक्न थालेको छ। श्रमदानबाट निर्माण गरिएको कुलोबाट आएको पानीले पेडारी गाउँको उत्तर–पश्चिम क्षेत्रको करिब दुईसय बिघा जमिनमा सिँचाइ पुग्ने भएको छ।

सिक्टा सिँचाइको पश्चिमी नहरअन्तर्गत बैजनाथसम्म पानी पुगे पनि सहायक नहर नबनेका कारण किसानको खेतबारीमा पानी पुर्‍याउन कठिन हुँदै आएको थियो।

श्रमदानबाट कुलो खनेर गाउँमा पानी पुगेपछि पेडारी गाउँका किसानलाई खेतमा बाली लगाउन अब आकाशको भर पर्न नपरेको स्थानीयवासी सुदिप लामिछानेले बताए।

बाँकेमा लामो समयसम्म पानी नपर्दा ६० प्रतिशत खेत अझै बाझै छन्। पानी पर्ने आशमा जेनतेन रोपाइँ गरेका किसान पनि लामो समयसम्म पानी नपर्दा समस्यामा परेको बताउँछन्।

आकाशे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकांश स्थानमा सिँचाइको अभावमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रका अधिकृत दिनेश भट्टराईले बताए।

उनका अनुसार खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै वर्षा नभएपछि जिल्लाका कैयौा स्थानको रोपाइँ हुन सकेको छैन भने अत्यधिक गर्मी र पानी अभावका कारण लगाएको बाली पनि सुक्न थालेको छ।

असारको दोस्रो साता पहिलो पटक परेको पानी र सिँचाइ सुविधा पुगेका केही स्थानमा धान रोपाइँ गरे पनि आकाशे पानीकोभर पर्ने किसानको खेत बाँझै रहेको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?