काठमाडौं । ‘सेवा प्रदायक तथा लाभग्राहीको व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा ठूलो परिवर्तन आउन सक्ने काठमाडाैं महानगरमा मेयर बालेन शाहले बताएका छन् ।
महानगरमा आज (साेमबार) महानगर क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने कार्यालयका अधिकारीकाबीच भएकाेपूर्वाधार विकास समन्वय बैठकमा मेयर शाहले सहर व्यवस्थापनमा आचरण सुधारको खाँचो रहेकाे अाैंल्याएका हुन् ।
सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, विजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहोरमैला व्यवस्थापनजस्ता कामका लागि पहिले सफ्टवेयरमा काम गर्ने र त्यसपछि मात्र हार्डवेयरमा काम गर्नेतर्फ मेयर शाहकाे जाेड रहेकाे थियाे ।
‘खानेपानी वितरणका लागि खनिएका वडा १३, १४, १५ र २६ का सडक कहिलेसम्ममा कालोपत्रे हुन्छनरु खानेपानीको पाइप विछ्याउन सहमति माग भइआएका वडा २, ३, ४ र ५ को काम कसरी हुँदैछ?’ बैठकमा प्रमुख शाहले, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरुलाई प्रश्न गरेका थिए । त्यस्तै विद्युत प्राधिकरणका अधिकारीलाई, वडा नं ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वाराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, माली गाउँ, कालो पुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि छोडिएको सडक कहिलेसम्ममा पुनर्स्थापना हुन्छ ? भन्ने प्रश्न गरेका थिए । बिजुली भूमिगत गरिएपछि मर्मत गरिएको पैदल मार्ग पनि उबडखाबड छ । यसको सतहलाई कसरी मिलाउन सकिन्छ ? मेयरकाे प्रश्न थियो । याेसँगै मेयर शाहले महानगरअन्तर्गत गर्नु पर्ने काम तदरुकताका साथ गरिने जानकारीसमेत दिएका थिए।
उपप्रमुख सुनिता डंगोलले, सहरी विकासका काममा समन्वय होस्, अन्यौल नहोस भन्ने उद्देश्य राखेर यस प्रकारको बैठक आयोजना गरिएको बताइन् । ‘साझेदार कार्यालयहरुको चालु आर्थिक बर्षका योजना र बजेटका विषयमा अद्यावधिक हुन पाइयो । कुन काम कसको क्षेत्राधिकारभित्र पर्छ स्पष्ट हुँदै गएको छ । यति नहुँदा महानगरले आफ्नो दायित्वमा नपर्ने विषयमा सेवाग्राहीका अपेक्षा सुन्नुपरेको थियो । बर्खामा गर्न सकिने काम बर्खामै गरौँ । अहिले गर्न सकिँदैन भनिएका सडक कालोपत्रेसहितका काम बर्खा सकिनेवित्तिकै गरौँ ।’ उपप्रमुख डंगोलले बैठकमा सबैलाई आग्रह गरिन् ।
बैठकमा सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत प्राधिकरणलगायत कार्यालयका अधिकारीहरुले बर्खायाममा सडक कालोपत्रे गर्न नसकिने बताका थिए । पाइप तथा विजुलीका तार विछ्याउन खनिएका सडक पानी पर्न छोडेपछि कालोपत्रे हुने उनीकाे भनाइ थियो ।
सडकको मापदण्ड र अहिलेको अवस्था, ट्राफिक व्यवस्थापनको व्यववहारिक र कानुनी पक्ष तथा प्रविधिजन्य सम्भावना, ढल सञ्जालको मर्मत तथा पुनर्स्थापनाको काम, चोकहरुको सुधार, इन्टरनेट सेवा प्रदायकहरुले टाँगेका तार व्यवस्थापन लगायतका विषयहरु बैठकमा छलफल भएको थियो ।
सहरमा फैलिएको हैजा र यससँग खानेपानी तथा ढल प्रणालीको सम्बन्ध छलफलको अर्को महत्वपूर्ण विषय थियो । बैठकमा प्रमुख शाहले, पार्किङ् प्रयोजन देखाएर नक्सा स्वीकृत गरिएका तर ती ठाउँ अन्य प्रयोजनमा ल्याइएका घरधनीलाई स्वीकृत नक्साबमोजिम प्रयोग ल्याउन महानगरले ३५ दिने सूचना जारी गरेको जानकारी गराए ।
बैठकमा विद्युत प्राधिकरण र नेपाल दूर सञ्चार प्राधिकरणका अधिकारीहरुले तार थेग्ने खम्बाको कुरा गरिरहँदा सडक विभागका अधिकारीले ती खम्बा सडकमा छन् भन्ने कुरा नविर्सन आग्रहसमेत गरे ।
बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण, सडक विभाग, सडक डिभिजन काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, उपत्यका विकास प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । त्यस्तै नेपाल प्रहरी प्रधान कार्यालय, खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पनि प्रतिनिधित्व रहेकाे थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया