अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण पश्चात आज दिउँसो स्वदेश फर्किएका छन् ।  बिहीवार भारतको राजधानी दिल्ली प्रस्थान गरेका अध्यक्ष प्रचण्ड भारत सरकारको निमन्त्रणामा त्यस तर्फ पश्चात गरेका हुन् । 

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अतिरिक्त परराष्ट्र मन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा पत्रकारसँग कुरा गर्दै उनले भ्रमण फलदायी र उपलब्धीमूलक भएको बताए । उनले, ‘प्रायः उच्च तहमा लामो छलफल गर्ने अवसर कही कत्तै मिल्दैन तर, यसपाली त्यस्तो अवसर मिल्यो । प्रधानमन्त्री मोदीजीसँग नेपाल भारत सम्बन्धका विविध आयामका बारेमा विस्तृत रुपमा असाध्यै सकरात्मक कुराकानी भयो । यसले धेरै राम्रो सन्देश प्रवाह भएको छ ।’

चीनका राष्ट्रपति सि जिङ पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच भएको रणनैतिक वार्ताबारे प्रधानमन्त्री मोदीको भनाई उदृत गर्दै अध्यक्षले भन्नुभयो, ‘चीन र भारतले ४०० वर्ष अघिसम्म ५१ प्रतिशत भन्दा बढी विश्व अर्थतन्त्रमा बर्चश्व कायम गरेको थियो, तर ४०० वर्ष यता बिग्रिएर घटेको र फेरी एकपटक यहाँको अर्थतन्त्र र सभ्यतालाई पुनः एसियामा स्थापित गर्नुपर्छ भन्ने रणनैतिक कुराहरु उहाँले गम्भीता पूर्वक बताए ।’

अध्यक्षले भारत भ्रमणका क्रममा आफूले नेपाल–भारत सम्बन्धदेखि विकास, व्यापार प्रवर्धन, व्यापार घाटा हटाउने, सीमामा देखिएका समस्या समाधानलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको बताए । प्रचण्डले भने, ‘जुन तरिकाले सम्बोधनमा आफ्ना कुरा मैले राखे त्यसको दीर्घकालीन र सामरिक महत्व छ । र यसले नेपाललाई समान हैसियतमा स्थापित गर्न ठूलो महत्व राख्ने छ ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री मोदीसँग भूकम्पको पुनर्निर्माणमा गरिएका प्रतिवद्धता कार्यान्वयनका कुरादेखि सबै विषयमा गम्भीर रुपमा लामो छलफल भएको बताए ।

अध्यक्ष प्रचण्डको स्वागतका लागि नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, बिष्णु पौडेल, सुवास नेम्वाङ, देव गुरुङ, नेता अग्नि प्रसाद सापकोटा, नेता देवेन्द्र पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पूर्व सभामुख ओनसरी घर्ती र खानेपानी मन्त्री बीना मगरसहित दर्जनौं नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

प्रचण्ड यही भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम  छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?