काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।
सोमबार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेमा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताए ।
पर्यटन मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थापन गर्नको लागि तत्काल गर्न सकिने मध्ये कालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने कामका विषयमा अध्ययन गरेर काम अगाडि बढाउने उल्लेख गरे । उनले पर्यटन क्षेत्रको पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर मात्रै व्यवस्थित गर्न सकिने दाबी गरे ।
मन्त्री श्रेष्ठले तत्काल समय सापेक्ष अनुसारको ऐन नियमलाई संशोधन गरेर काम अगाडि बढाउने पनि तयारी भइरहेको बताए । उनले आफू लामो समय बस्ने मन्त्री नभएको भन्दै ऐन कानुन निर्माण गर्न भने लागिपर्ने बताए ।
त्यस्तै, कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजहरुलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्ने सुझाव दिए । उनले ट्राभल एजेन्सीमार्फत पर्यटन गन्तव्यहरुको ब्रोसरहरु बोकेर, हवाइ उडानमा खर्च गरेर अहिलेको आधुनिक र टेक्नोलोजीको समयमा जानुपर्ने उपयुक्त नहुने दाबी गरे। अध्यक्ष सुवेदीले विदेशी पर्यटक नेपाल आएर नेपालका पर्वतीय र पदयात्रा जाँदा ट्रेकिङ कम्पनीहरुको माध्यमबाट मात्रै पर्वतीय र पदयात्रा सञ्चालन हुनुपर्ने जिकिर गरे ।
त्यस्तै, होटल एसोसिएसन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले राज्यले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकता नराखेको गुनासो गरे । उनले सरकारले अन्य उद्योगको तुलनामा राष्ट्रिय प्राथमिता नपरेर सहुलियत तथा छुट समेत नपाउँदा उद्योग धरासाही बनेको दाबी गरे । अध्यक्ष राणाले सरकारले पर्यटन उद्योगलाई मौद्रिक नीतिमार्फत सहुलियत तथा अनुदानको व्यवस्था गरे मात्रै पर्यटन उद्योगलाई ठूलो सहयोग पुग्ने बताए । उनले सरकारले नेपालको राम्रो सन्देश दिनको लागि पाँच तारेदेखि सबै होटलमा खानामा गुणस्तरियता कायम गराउनु पर्ने सुझाव दिए । अध्यक्ष राणाले नेपालका पर्यटक ल्याउनको लागि अझै चुनौती रहेको बताए ।
त्यस्तै, कार्यक्रममा नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामाले पर्वतारोहण उद्योगलाई राष्ट्रिय उद्योगको रुपमा स्थापना गर्न सुझाव दिए । उनले पर्वतारोहण सम्बन्धि सेवा सुविधाहरु एकद्वार प्रणालीमार्फत दिनुपर्ने बताए । अध्यक्ष लामाले शाहसिक विभिन्न खेलहरुको लागि हिमालय आरोहण समेत खुल्ला गर्न माग गरे। उनले हिमाल आरोहण गर्दा ज्यान गुमाउनेको परिवारलाई कल्याणकारी कोष सञ्चालन गर्ने नितिगत व्यवस्था गर्नुपर्ने बताए ।
त्यस्तै,नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटकको लागि काठमाडौंमा विगत लामो समयदेखि पर्यटक बसपार्कको अभाव भएकाले सरकारले पर्यटक बसपार्कको व्यवस्थापन तत्काल गर्नुपर्ने बताए ।
कार्यक्रममा समग्र पर्यटन व्यवसायीहरुले नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको लागि सरकारले गर्नुपर्ने विभिन्न काम गर्नको लागि सुझाव दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया