मकै पोलेर ब्युँतेको एउटा सपना

सीता कुँवर बिहान घाम झुल्किनु अघि बिउँझिन्छिन् । उनको घाम सबेरैको ४ बजे नै झुल्किन्छ । 

४ बजे उठेर मकै लिन तिनकुने जानु, तिनकुनेमा पाइएन भने कालीमाटिसम्म पुगेर मकै ल्याउनु, घरधन्दा, बुढी सासुको हेरचाह, राति ८ बजेसम्म मकै पोल्नु, धुवाँसँगको अन्तरक्रिया सीताको दिनचर्या बनिसकेको छ । 

विगत ८ वर्षदेखि पुरानो बानेश्वरमा मकै पोलेर आफ्नो ८ जनाको परिवार पाल्दै आएकी सीता मन खोलेर हाँस्छिन् । हाँस्दा उजेली देखिन्छिन् । अनुहार उजेलिँदा चाउरिएका गालापनि आंशिक रुपमा तन्किन्छन् । आँखाभने डार्क सर्कल ले घेरिएका छन् । शायद धुवाँले गर्दा । 

पुरानो बानेश्वरस्थितग्लोबल कलेज मास्तिर एउटा घरको फ्ल्याट भाडामा लिएर बसेकी सीताका परिवारमा ८ जना सदस्य छन् : श्रीमान, सासु, दुई छोरा र ३ छोरी । सीताले संघर्ष गर्दै भएतापनि आफ्ना ५ छोराछोरीलाई कुनै अभाव महसुस हुन दिएकी छैनन् । 

सबैलाई बोर्डिङ नै पढाइन् । अहिले पनि सबैजना पढिरहेका छन् । कोही स्कुलमा । कोही कलेजमा । 

उनले मकै पोल्न थालेको करिब एक दशक पूरा भयो । उनलाई कुनै काम ठूलोसानो लाग्दैन । ‘इलम गर्न के को लाज । मकै पोल्नुअघि अर्काको घरमाकाम गरेर निखाकै हो क्यारे ।’ आफ्ना पुरानादिनहरु यादगर्दै उनीबोलिन् ।

त्यस्तै सीताका श्रीमान ज्याला मजदुरी गरेर दुईचार पैसा कमाउँछन् । फिफ्टी–फिफ्टी परिवारको गर्जो टारिरहेका छन्, कुँवर दम्पत्ती ।

सीता यसमै सन्तुष्ट छिन् । ‘घरजग्गा, सुन चाँदी जोड्न सकिएन । जोड्नु मात्रै ठूलो कुरा पनि होइन । दुख सुख खान लाउन पुगेकै छ । छोराछोरीलाई पढाइएकै छ । म त ढुक्क छु ।’ नमिलेका दाँत देखाउँदै हाँसिन् । तर अति नै सुन्दर देखियो । 

पहिलो दिन…

सीताले अहिलेसम्म कति जनालाई कति घोगा मकै बेचिन् भन्ने कुनै लेखाजोखा छैन । यद्यपी उनका ग्राहकहरु भने विभिन्न प्रकारका छन् । कोही सललल गाडीमा आएर परिवारकै लागि मकै ‘प्याक’गरि माग्छन् । कोही दिनभरिको ज्याला मजदुरी काम सकाएर त्यहीँ छेउमा बसेर सीतासँग गफ गर्दै मकैका घोगा दार्छन् । 

सीताको ठेला कहिलेकाहीँ मान्छेहरुका लागि गफिने चौतारी पनि बन्ने गरेको छ । आजभन्दा ठीक ८ वर्ष अघि यहीँ अनि यही ठेलाबाट मकै पोल्ने काम थालेकी सीतालाई पहिलो दिन २० घोगा मकै बेचेको प्रष्टै याद छ । ‘अहिले दिनमा नभएको पनि ७० देखि ८० घोगासम्म मकै बेच्छु ।’ उनले थपिन् ।

तर, प्याकेट फुडको प्रभावले गर्दा मकै खानेको संख्या दिनप्रतिदिन घट्दै गएको सीताको बुझाई छ ।

मःम, चाउचाउ, चाउमिन, चटपटे, पानीपुरी जस्ता तयारी खानाहरु चाख्ने बानी परेको जिब्रोले मकैको स्वाद त्यति रुचाउँदैन पनि । त्यसैले आजकल सीताको व्यापार पहिले भन्दा खस्किँदै गइरहेको छ ।

‘यसै त व्यापार खस्केको त्यसमाथि नगरपालिकाले पनि एउटा ठेलावापत ७५ रुपैयाँ कर उठाउने भनेको छ । खै कसरी चल्छ र यसरी त ?’ यसपटक भने सीता केही निराश देखिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?