प्याराग्लाइडिङ विस्थापन हुने व्यवसायीको चिन्ता

लोकपथ
0
Shares

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै रु डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएकाले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोको लागि प्याराग्लाइडिङलाई विकल्पको छनोट गरेर सार्न निर्देशन दिइएको छ । तर, व्यवसायीको माग पोखराको आकाशबाट विस्थापन नभई व्यवस्थापन हुनुपर्छ भन्ने छ ।

“प्याराग्लाइडिङ साहसिक पर्यटनको एउटा ब्राण्ड हो, पोखराको आकाशमा उड्न जति पर्यटक रमाउँछन् त्यो अन्यत्रबाट हुँदैन । तसर्थ यही कतै व्यवस्थापन गर्नुपर्छ”, नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष सुनिलबहादुर भट्टराईले भने । उनले सरकारले चाह्यो भने समय छुट्टाएर यही आकाशबाट उडाउन सक्ने र आफूहरुको पनि त्यही माग भएको बताए ।

जहाज उडानको समय तालिकालाई ध्यान दिएर प्याराग्लाइडिङको लागि दुई घण्टा समय तोकेरै भए पनि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

प्राधिकरणले अहिलेसम्म यस विषयमा विशेष चासो राखेर व्यवसायीको आवाजलाई सम्बोधन गर्नेतर्फ नलाग्नु दुःखद् भएको उनको भनाइ छ ।

निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले पोखराको आकाशबाट उडान हुनुपर्ने र त्यसको प्राविधिक व्यवस्थापनसँगै दिगो पर्यटनका लागि प्राधिकरणले सोच्नुपर्ने बताए । जहाजको ‘ओभर सुट मिस एप्रोज’ हुँदा त्यसलाई ‘राइट टर्न’ नगरी ‘लेफ्ट टर्न’ ग¥यो भने प्याराग्लाइडिङ पनि हुने र जहाज उडानमा थप सुरक्षा हुने भएकाले प्राधिकरणले यसलाई अवलम्बन गरेर सञ्चालन गर्न उनको आग्रह छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा भइरहेका साहसिक उडानका गतिविधि रोकिँदा पर्यटकको पोखरा बसाई पनि घट्न सक्ने बताए । अहिले पोखरामा पर्यटकको बसाई अवधि औसत दुई दिन छ । टानका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले पोखरालाई विश्वमा चिनाउने पदमार्ग मोटरेबल बाटोले विस्थापित गरायो अब प्याराग्लाइडिङ पनि विस्थापित हुने होकि भन्ने शङ्का बढ्न थालेको बताए ।

पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?