काठमाडौं । विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडको संयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिनुका साथै मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आह्वानसमेत गरिएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोलेर मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र दिगोरुपमा नेपालमै वैदेशिक मुद्राको श्रोत बन्ने पर्यटन पूर्वाधार तथा जलविद्युत आयोजनामा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष ढकालले धेरै मुलुकहरुको दाँजोमा नेपालमा लगानीको सम्भावना बढी रहेको र प्रतिफल पनि राम्रो रहेको बताए । उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा संचितिमा आएको कमीलाई मध्यनजर गर्दै नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न मिल्ने प्रावधान ल्याएको बताउँदै यसमा सहयोग गर्न गैरआवासीय नेपाली संघ तथा सम्पूणर् नेपालीहरुलाई आग्रह समेत गरे ।
उनले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरुले भूमिका खेल्नुपर्ने बताए । बेलायतस्थित नेपाली राजदुतावासका डिसिएम रोशन खनालले मुलुकको अर्थतन्त्र बचाउन र मुलुकको विकासमा गैर आवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन र पर्यटक बढाउन गैर आवासीय नेपालीलाई समेत आग्रह गरे । डिसिएम खनालले ग्लोबल आइएमई बैंकले विदेशी मुद्रा भित्र्याउन गरेको पहलको प्रसंशा गर्दै दुताबास पनि यसमा सहकार्य गर्न तत्पर रहेको बताए ।
उनले बैंकको यस पहलले अहिले मुलुकभित्र देखिएको विदेशी मुद्रा सञ्चितिमाथिको दबाबलाई कम गर्न सहयोग पुग्ने विश्वास समेत राखे । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पारेका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, ब्रिटेन नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष विराज भट्ट, ह्याम्पसायर पोलिस कन्टाबुलरीका सल्लाहकार शिवजी श्रेष्ठ, लण्डन बोरो अफ बार्नेटका काउन्सिलर लक्ष गुरुङ, टीएनबी ग्यारिसनका कमाण्डिङ् अफिसर तोल काम्चालगायतले आफ्नो धारणा राखेका थिए ।
उनहरुले बैंकले विदेशमा रहेका नेपालीहरुको सेवा र सजिलोको लागि नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था गरेकोमा बैंकको प्रसंशा गर्दै यसले गैर आवासीय नेपालीको आवश्यकतालाई पूर्ति गर्ने र नेपाललाई सम्भावित आर्थिक संकट टार्न सहयोग पुग्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया